विप्लव समूहको बन्द : राजधानीमा न्यून प्रभाव, कतै विस्फोट, कतै आगजनी
सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधिमा प्रतिबन्ध लगाएर धमाधम नेता-कार्यकर्ता पक्राउ गरेपछि त्यसको विरोधमा उक्त समूहले आज नेपाल बन्द गरेको छ।
विप्लव समूहले बिहीबार गरेको बन्दको असर काठमाडौं उपत्यकामा खासै नदेखिए पनि बाहिरी जिल्लामा भने प्रभाव देखिएको छ। बन्दकर्ता नदेखिए पनि उपत्यका बाहिरका सहर बजारहरु कम मात्रामा खुलेका छन्। त्यस्तै राजमार्गमा समेत गाडीको आवतजावत न्यून रहेको छ।
त्यस्तै विभिन्न ठाउँमा बम विस्फोट र आगजनीका घटना भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।
पाल्पाको रिब्दीकोट गाउँपालिकाको भवनमा बम विस्फोट भएको छ। बिहीबार बिहानीपख भएको विस्फोटमा गाउँपालिका भवनमा आशिंक क्षति पुगेको प्रहरीले जनाएको छ। विस्फोटबाट भवनका सिसाहरु फुटेका छन्। उक्त भवनमा टायर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।
त्यसैगरी रुपन्देहीमा पनि बन्दको असर परेको छ। बुटवल बजार बिहानैदेखि ठप्प रहेको छ भने सवारीसाधन समेत चलेका छैनन्।
रुपन्देहीकै कोटिहवास्थित टाइगर प्यालेस होटल जाने बाटोमा बम भेटिएको थियो। उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो।
यता पोखराको नदीपुरस्थित प्रदेशसभा भवन गेटअगाडि पनि बम फेला परेको थियो। डिस्पोज गर्ने क्रममा नेपाली सेनाका अमल्दार धर्मबहादुर थापा घाइते छन्। बारुदको छर्राले लाग्दा उनको औंलामा चोट लागेको प्रहरीले जनाएको छ।
काभ्रेको पनौती–७ खोपासी जाने बाटोमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। उक्त वस्तु नेपाली सेनाले डिस्पोज गरिसकेको छ।
मकवानपुरको भीमफेदीमा दुई वटा गाडीमा आगजनी भएको छ। अन्य जिल्लामाहरुमा पनि बम र शंकास्पद वस्तुहरु फेला परेका छन्। जनजीवन त्रस्त बनेको छ।















