अमलेखगञ्ज कप फुटबलमा सिमरा र सर्लाही विजयी (फोटो फिचरसहित)
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जमा जारी प्रदिप बल स्मृती कप फुटबल प्रतियोगितामा आज सिमरा र सर्लाही विजयी भएको छ । प्रतियोगिता अन्र्तगत अमलेखगञ्जको १ नं पुल नजिकै रहेको विषधारी पेट्रोल पम्पको पुर्वतर्फ रहेको मैदानमा आज भएको दुई वटा खेलमा सिमरा र सर्लाही विजयी भएको हो ।
श्री शिद्धबाबा युवा क्लब अमलेखगञ्जद्धारा आयोजित प्रतियोगिताको पहिलो खेलमा सर्लाही जिल्ला फुटबल संघ लालबन्दि विजयी भएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बागेश्वरी फुटबल क्लब नारायणघाटलाई एक गोल गर्दे सर्लाही विजयी भएको हो । खेलको म्यान अफ दि म्याच सर्लाहीका राकेश सुनाचरी घोषित भए ।
यसैगरी आजै भएको दोश्रो खेलमा सिमराको नव जनजागृती युवा क्लब सिमरा विजयी भएको थियो । हेटौडा एकेडेमी मकवानपुरलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दे सिमरा विजयी भएको हो । खेलमा दुवै टिमले प्रयाप्त अवसर पाएपनि निर्धारित ७० मिनेटमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
प्रतियोगिता अन्र्तगत भोलि एउटा मात्र खेल हुने आयोजकले जनाएको छ । दिउसो ३ बजे हुने खेलमा आर्मिको प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज र मकवानपुर ११ बिच खेल हुने आयोजक क्लबका अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिनुभयो । स्वर्गिय प्रदिप बलको स्मृतीमा आयोजित क्षेत्रिय कप फुटबल प्रतियोगिता बैशाख १४ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा आयोजक श्री सिद्धबाबा युवा क्लब अमलेखगञ्जसहित बागेश्वरी फुटबल क्लब, नारायणघाट, सर्लाही जिल्ला फुटबल संघ लालबन्दि, हेटौडा एकेडेमी मकवानपुर, नव जनजागृती युवा क्लब सिमरा, बीरगञ्ज युथ एकेडेमी, नेपाल फुटबल क्लब चपुर, प्रतिबिद्रोह तथा जंगलवारफेर स्कुल अमलेखगञ्ज, बारा ११ बारा र मकवानपुर ११ मकवानपुर गरी १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १ लाख तथा उप–बिजेताले ५० हजार रुपैया पाउनेछ ।
















