आफ्नै श्रीमतीकाे जलाएर हत्या गर्ने प्रयास
जनकपुरधाम । धनुषामा एक युवकले आफ्नै श्रीमतीलाई जलाएर हत्या गर्ने प्रयास गरेका छन् ।
लागू पदार्थ दुव्र्यसनी रहेका धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर १ पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी निर्मला यादवलाई घरमा कोही नभएको बेला कुटपीट गर्दै हातखुट्टा बाँधेर जलाएर हत्या गर्ने प्रयास गरेका छन् ।
निर्मलाको उनको ७० प्रतिशत भन्दा बढि छाला जलिसकेको छ । जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौँ स्थित वर्न होस्पिटलमा उपचार भइरहेको छ ।
उनीहरुबीच विवाह भएको १० महिना नवित्दै यस्तो घटना भएको आफन्तहरुले बताएका छन् । पीडित महिलाको आफन्तका अनुसार वैशाख ५ गते निर्मला एक्लै भएको बेला लागु पदार्थ तथा मदिराको नशामा रहेका मुकेशले कुटपिट गर्दै मट्टीतेल छर्केर आगो लगाएका थिए । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएर त्यहाँबाट फरार भएका थिए ।
घटनापछि निर्मलाका बुवा कामे भुसकुलियाले आगो लगाई ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएका छन् ।
उनले मुकेश गोइत यादव, मुकेशको बुवा झरी गोइत यादव र उनको आमामाथि ज्यान मार्ने उद्योगमा कारवाहीको माग गर्दै जाहेरी दिएको प्रहरीले जनाएको छ ।















