मौसम खराब हुँदा काठमाडौंमा ‘एयर ट्राफिक जाम’

ए वान डेस्क
१३ बैशाख २०७६, शुक्रबार १२:०१

काठमाडौंको मौसम खराब भएका कारण हवाई यातायात अवरुद्ध भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार बिहानैदेखि उडानमा अनियमितता रहेको छ। उडान र अवतरणका लागि मौसमले साथ नदिंदा कतिपय उडान रद्ध, डाइभर्ट भएका छन्।

एक दर्जन जहाज आकाशमै होल्ड रहेका छन् भने धेरै आन्तरिक उडान डिले भएका छन्।

विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार ल्हासाबाट काठमाडौं आउने सिचुवान एयरलाइन्सको उडान रद्ध भएको छ। ग्वाङजाउबाट काठमाडौं आउँदै गरेको चाइना साउदर्नको उडान बंगलादेशको ढाका डाइभर्ट गरिएको छ भने छेन्दुबाट आउने एयर चाइनाको उडान डिले भएको छ।

विमानस्थलहरूमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) । सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ । यस नियमअनुसार काठमाडौंमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो नियमअनुसार जहाजको उडान अवतरण छिटो हुन्छ । किनकि यसमा पाइलटले आफैँ हेरेर कन्ट्रेल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन् ।

खराब मौसमका कारण भीएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआर उडान गर्न सकिन्छ । यसका लागि काठमाडौंमा २ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । काठमाडौंबाहेकका विमानस्थलमा आइएफआर नियमअनुसार उडान–अवतरण गर्न २ हजारदेखि २५ सय मिटरसम्मको भिजिबिलिटी आवश्यक पर्छ । तर, भिएफआरको तुलनामा आइएफआरमा उडान–अवतरणको समय बढी लाग्ने भएकाले जहाजहरू ग्राउन्डमा भए डिले हुने र आकाशका भए होल्ड गर्नुपर्ने समस्या देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*