नौ जनाको मृत्यू भएको हुम्लामा हेलिकोप्टरबाट डाक्टर पठाइयो
पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि हुम्लाको ताँजाकोटमा हेलिकप्टरबाट औषधी र डाक्टर पठाइएको छ ।
मानिसको मृत्यु हुने क्रम बढेपछि हेलिकप्टरबाट औषधी र डाक्टर पठाइएकाे सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।
“बिहान दुईवटा हेलिकप्टरमा ल्यावको सामग्री, ३ जना डक्टर लगायतको टोली पुगिसेको छ” मन्त्री रावलले भने “रोगको पहिचान भएपछि उपचारको थप व्यवस्था गर्छौँ ।”
मुगुबाट पनि डाक्टरको टोली प्रभावित क्षेत्रमा पुगको उनले बताए ।
१ वैशाखदेखि टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने र पखाला लाग्ने र मृत्यु हुने राेग फैलिएकाे भएपनि स्थानीय स्वास्थकर्मीले रोगको पहिचान गर्न सकेका छैनन् ।
सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा रहेको ताँजाकोट १, २ र ३ वडामा फैलिएकाे राेगले धेरै मानिस बिरामी परेका छन ।
स्थानीय सरकार र प्रदेश सरकारले वेवास्ता गरेको समाचार सञ्चारमाध्यममा आएपछि हेलिकप्टर पठाइएको हो । गाउँमा रोग फैलिएर मानिसहरुको मृत्यु भएपनि गाउँपालिका अध्यक्ष बागचल छन्त्याल मल्ल र निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाही सहकारी तालिमका लागि सुर्खेत पुगेका थिए ।
तर सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अध्यक्ष मल्लले आफू उपचारका लागि सहयोग माग्न गएको बताएका थिए ।
गाउँपालिका अध्यक्ष मल्ललाई यो समयमा गाउँ नछाड्न निर्देशन दिएको पनि मन्त्री रावलले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेम सिँहले पनि घटनाबारे विस्तृत जानकारी नभएको बताएका थिए ।
उक्त राेगबाट ताँजाकोट वडा नं. –१ का वीरबल रिठाल (५५) कुशुमा रिठाल (७०) र सुरजित खड्का (६०), वडा नं २ का रङ्गे कोली (५५) र सुनकेसा सुनार (७) रहेका छन् । त्यस्तै वडा नं ३ की अम्मकली मल्ल (७०), बज्जिरे सुनार (७५), लक्ष्य सुनार (५५) र १० महीनाका बालक सञ्जिव थापा काे मृत्यु भएकाे वडा नम्बर ३ का अध्यक्ष परिमल सुनारले बताए ।
हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनाका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ ।















