एक अर्ब ६७ करोडको सेयर कारोबार

ए वान डेस्क
१६ बैशाख २०७६, सोमबार ११:४१

सेयर कारोबार १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार २० रुपैयाँ पुगेको छ । ४९ लाख २१ हजार ८४ कित्ता सेयर खरिदबिक्रीबाट उक्त रकम बराबर सेयर कारोबार भएको हो । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । नेप्से २२ दशमलव ३९ अंकले बढेर १ हजार ३ सय १४ दशमलव ५१ को बिन्दुमा पुगेको छ ।

नयाँ वर्षको सुरुवात भएसँगै सेयर बजार निरन्तर बढ्दा लगानीकर्ता उत्साहित भएका छन् । यतिबेला बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गर्दै गरेको वित्तीय विवरणले समेत लगानीकर्तालाई थप लगानी गर्न उत्साहित गरेको सेयर बजारका लगानीकर्ता कमल पन्थीले बताए ।

उनले आइतबारको बजारमा लगानीकर्ताहरू चासो बिमा समूहतर्फ रहेको बताउँदै यसको कारण बिमा कम्पनीले असारभित्रै बोनस सेयर दिने अपेक्षा लगानीकर्तामा रहेको बताए । लगातार बढिरहेको नेप्सेलाई कारोबार रकमले साथ दिएको छ । बजारमा लगानीकर्ताको संख्या बढ्दै जानु र खरिदबिक्री रकम पनि चुलिनु दिगो विकासको संकेत भएको बताएका छन् ।

पछिलो समय बजार वर्ष दिनयताकै उच्च बिन्दुमा पुगेको छ । गत वर्ष वैशाख २० गते १ हजार ३ सय ६० अंकमा रहेको बजार त्यसयता लगातार घट्दो क्रममा रहेको थियो । गत १९ फागुनमा न्यूनतम बिन्दु १ हजार १ सय अंक छोएर उक्लिएको बजारले आइतबारसम्ममा २ सय १४ अंकको वृद्धिपछि १ हजार ३ सय १४ अंकमा पुगेको छ । यसबीचमा लगानीकर्ताले अर्बाैं रुपैयाँ गुमाएको भए पनि अहिले सूचीकृत कम्पनीहरूले नाफा बढाउँदै लगेको हुँदा अब भने सम्पत्ति बढ्दै जाने
लगानीकर्ताहरू बताउँछन् ।

समग्र बजार सकारात्मक रहदाँ बैंकिङ समूह र वित्त समूहमा भने दबब देखिएको छ । बैंकिङ ९ दशमलव शून्य २ र वित्त समूह शून्य दशमलव ६८ अंकले घटेको छ । बाँकी आठवटा उपसमूह बढेका छन् ।

होटेल ९० दशमलव ४, विकास बैंक ६ दशमलव १, जलविद्युत् ६२ दशमलव ५८, र्निजीवन बिमा ४६२ दशमलव ७९, उत्पादन तथा प्रशोधन ४६ दशमलव ३७, लघुवित्त ९१ दशमलव शून्य ८, जीवन बिमा ६२९ दशमलव ३८, र समूह अन्य ५ दशमलव ६३ अंकले बढेका छन् । यस दिनको बजारमा लगानीकर्ताको आकर्षणको केन्द्र भने बिमा समूह भएको छ ।

सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको कारोबार २३ करोड १९ लाख ६० हजार रुपैयाँ बराबर छ । सर्वाधिक कारोबार गर्नेमा छिमेक लघुवित्त विकास बैंक, प्राइम कर्मसियल बैंक, नेको इन्सुरेन्स, एनएमबी बैंकलगायतका कम्पनी रहेका छन् ।

सर्वाधिक १० प्रतिशतले कमाउनेमा सातवटा कम्पनीहरू रहेका छन् । एसियन लाइफ इन्स्योरेन्स, डिपोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बिमा कम्पनीका प्रमोटर सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताहरू रहेका छन् । गुमाउने कम्पनीको अग्र स्थानमा सनराइज बैंकका लगानीकर्ता रहेको छन्

। यसका लगानीकर्ताले ४ दशमलव शून्य ४ प्रतिशतले गुमाएका हुन् । अन्य कम्पनीमा रिलाएन्स फाइनान्स, सांग्रिला डेभलोपमेन्ट बैंक, कर्णाली विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकलगायतका कम्पनीहरू रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*