प्रदेश ३ ले ५० अर्बको बजेट ल्याउने

ए वान डेस्क
१९ बैशाख २०७६, बिहीबार ११:१८

मकवानपुर। प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५० अर्बको बजेट ल्याउने भएकोे छ । चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् ।

चालू आवमा हालसम्म पुँजीगत र चालू खर्च गरी ३० प्रतिशत मात्र बजेट खर्च भएको छ । बजेट खर्चको अनुपात हेर्दा यो आवको अन्त्यसम्म पनि प्रदेश सरकारले पुँजीगत खर्च ५० प्रतिशतसम्म पु¥याउन नसक्ने देखिएको । यद्यपि, प्रदेश सरकार शतप्रतिशत खर्च गर्ने दाबी गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको सुरुवाती दिनमा कानुन अभावलगायतका समस्या देखिए पनि अब त्यस्तो नहुने हँुदा बजेट खर्च हुने प्रदेश सरकारको दाबी छ ।

राजस्व संकलनको महŒवपूर्ण हिस्सा मानिएको ढुंगा, गिट्टी, बालुवाको सबै कर स्थानीय तहले मात्र लिन पाउने संघीय सरकारले निर्णय गरेपछि प्रदेशको आर्थिक स्रोत घट्ने चिन्ता बढेको छ । तर, राजस्व संकलनको दायरा बढाएर आर्थिक स्रोत वृद्धि गर्ने तयारीमा प्रदेश सरकार लागेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए । आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले सचिवविहीन छ ।

लामो समयदेखि सचिव नभएका कारण बजेटको तयारीमा धेरै समस्या परेको मन्त्री ढुंगेलले बताए । संघीय सरकारले सचिव नपठाएकोमा मन्त्री ढुंगेल आक्रोश पोखे । लामो समयदेखि संघीय राजधानीसमेत रहेको प्रदेश ३ मा सचिव पठाउन नसकेको अवस्थामा अन्य प्रदेशमा कस्तो समस्या होला भन्दै उनले चिन्ता व्यक्त गरे । – राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*