भाइरल भिडियो बनाउने युवतीलाई किन खोज्दैछ प्रशासन?

ए वान डेस्क
१९ बैशाख २०७६, बिहीबार १६:१५

जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय मात्र रहेको भिडियो फेसबुकमा पोष्ट गरेकी छिन्।

जन्मका आधारमा नागरिकता लिएका नेपालीका सन्तानले वंशजको नागरिकता पाउने सरकारको निर्णयपछि पर्सा जिप्रकामा भारतीयको भीड बढेको उनले दाबी गरेकी छिन्। यस्तो देखेर आफू आश्चर्यचकित भएको नम्रताको भनाइ छ।

स्थलगत खिचिएको वाग्लेको भिडियो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा मत विभाजित देखिन्छ। यही सन्दर्भमा बिहीबार उनलाई प्रशासनले खोजी गरिरहेको भन्ने समाचार सञ्चार माध्यममा आएका छन्।

यो विषयमा नेपालखबरले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसँग टेलिफोनमा सोधेको थियो, ‘भिडियो बनाउने युवती नम्रता वाग्लेलाई प्रशासनले किन पक्राउ गर्न खोजेको हो?’
जवाफमा उनले भने, ‘जिल्ला प्रशासन कार्यालयकै कार्यसम्पादनसँग सम्बन्धित विषय भएकाले सामान्य सोधीखोजी गर्न भनेको साँचो हो। तर जिम्मेवार सञ्चार माध्यममा यो विषय बडाइँचढाइँ गरेर अर्कै रुपमा आयो। वास्तविकता त्यस्तो होइन।

वास्तविकता के हो त?
नागरिकको सुरक्षाबारे प्रशासनको चासो सदैव रहन्छ, रहनुपर्छ। प्रशासनले त यहाँको वस्तुस्थिति, सन्दर्भ, परिस्थिति सबै विश्लेषण गरेर हेर्नुपर्छ। हेरिरहेको हुन्छ। यही सन्दर्भमा उनको सुरक्षाबारे प्रशासनले चासो देखाएको हो। उनी सुरक्षित छन् कि छैनन्, कहाँ बस्छिन् भनेर चासो राख्नु सामान्य हो। विषयवस्तुलाइ नकारात्मक बनाउने काम गरियो। यो सर्वथा गलत हो। उनलाई पक्राउ गर्ने, कारवाही गर्ने नियतले सोधखोज भएको होइन। त्यस्तो योजना छैन।

पर्सा जिल्ला प्रशासनमा वंशजको नागरिकता लिन भारतीयको भिड छ भन्ने भाइरल भिडियोको वास्तविकता चाहिँ के हो?
भिडभाड हुनु धेरै मान्छे आउनु एउटा पक्ष हो। त्यहाँ कोही गलत मान्छे घुसेको पनि हुनसक्छ। त्यस हिसाबले भिडको विषयमा आंशिक सत्यता हुनसक्छ। भिडमा बस्दैमा कसैले नागरिकता पाइहाल्ने पनि होइन। भारतीयले वंशजको नागरिकता लिइरहेका छन् भन्नु विल्कुल गलत हो। भ्रामक हो। यसका कारण हामीले अनाहकमा धेरै हैरानी पाइरहेका छौं।

पर्सा जिल्ला प्रशासनबाट एक दिनमा कति जनाले वंशजको नागरिकता पाइरहेका छन्?
एक–दुई दिन यहाँ ठूलो भिडभाड भयो। एक हजारसम्मको लाइन पनि देखियो। त्यही भिडलाई देखेर गलत अर्थ लगाउने काम भयो। अहिले विस्तारै सामान्य भइरहेको छ। दैनिक २५० हाराहारीमा निवेदन दर्ता भइरहेका छन्। हामीले कानुनको अधिनमा रही कडाइँका साथ जाँचबुझ गरिरहेका छौं। यसो गर्दा त्यस्तै ४०—५० वटा जति वितरण भइरहेका छन्। तपाइँलाई यहाँ आएरै हेर्न अनुरोध छ। हाम्रा सबै प्रक्रिया पारदर्शी छन्, कानुनको अधिनमा छन्। –  नेपालखबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*