चोरीको पैसाले प्रेमीकालाई ५५ हजारको मोबाइल

ए वान डेस्क
१९ बैशाख २०७६, बिहीबार १६:४०

चोरी आरोपमा सातदोबाटो प्रहरीले एकजनालाई प्रकाउ गरेको छ । वैशाख ५ गते सातदोबाटो चोकमा रहेको सेल्सबेरी डिपार्टमेन्ट स्टोरबाट ८ लाख ८४ हजार चोरी गरेको आरोपमा सिन्धुलीका २८ वर्षीय इन्द्रबहादुर घिसिङ पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार घिसिङ ललितपुरको मचागलमा बस्दै आएका थिए । चोरीमा संलग्न घिसिङले यसअघि सोही स्टोरमा सुरक्षा गार्डको रुपमा काम गरेको अनुसन्धानबाट खुलेको छ।

घिसिङले चोरी गरेको पैसाले प्रेमीकालाई ५५ हजारको मोबाइल उपहार दिएको अनुसन्धानका क्रममा खुलेको डीएसपी मिश्रले जानकारी दिए।

वैशाख ५ गते साँझ सेल्सवेरीमा छिरेका घिसिङ चार–पाँच घण्टा त्यही लुकेका थिए । मध्यरातसम्म बाथरुममा लुकेका उनले करिब १ः३० बजे सेफमा राखिएको करिब नौ लाख चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले चोरी गर्नु अघि त्यही काम गर्ने महिलाको पोशाक, मास्क र पञ्जा लगाएका थिए ।

‘सीसीटीभी फुटेज हेरेर जीउडालका आधारमा उनी पक्राउ परेका हुन्’, मिश्रले भने, ‘अनुहार छोपेको र कपडा फेरेकाले उनलाई चिन्न हम्मे परेको थियो।’

चोरी गरेपछि उनी पोखरा, भक्तपुर, ललितपुरलगायत विभिन्न सहरका होटलमा बसेको देखिन्छ। जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।

अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*