वर्षाका कारण प्रदेश १ र प्रदेश २ बीचको खेल रद्द
अन्तर प्रदेश यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।
प्रदेश १ र प्रदेश २ बीचको खेल रद्द हुँदा दुबै टोली एक-एक अंक बाँड्न बाध्य भएका हुन् ।
ad ad ad
त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित ३० ओभर ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।
प्रदेश २ का लागि रोहन बिक र प्रशुराम यादबले अर्धशतकीय पारी खेले । रोहनले ५७ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा ६२ रनको योगदान गरे । यस्तै प्रशुराम यादबले ४५ बलको सामना गर्दै ४ चौकाको सहयोगमा ५१ रन बनाए । यस्तै टिमका लागि मेघराज मोहराले २९ तथा निरज यादबले १७ र ईमरान शेखले ३ रन बनाए ।
बलिङतर्फ प्रदेश १ का लागि सिमरन राईले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सोनु मन्डलले २ तथा बिपिन महतोले १ विकेट लिए । १ सय ८९ रनको लक्ष्य पछएको प्रदेश १ ले ११ ओभर ५ बलमा ३ विकेट गुमाउँदै ३३ रन बनाएको अवस्थामा मैदानमा वर्षा हुन थालेपछि खेल रोकिएको थियो । त्यसपछि निर्धारित समय सम्म पानी नरोकिएपछि खेल रद्द हुन पुगेको थियो ।
२४ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद रु. २ लाख ५० हजारसँगै सोही बराबरको खेल सामग्री, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेताले भने नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयमान खेलाडीलाई खेलकुद सामग्री, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। – बाह्रखरी















