३९ हजार टिकट दुई मिनेटमै बिकेपछि…
एजेन्सी । भारतमा क्रिकेटको क्रेज कति बढ्दो रहेको छ भन्ने कुरा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) बाट स्पष्ट देख्न सकिन्छ । अझ यस प्रतियोगिताको फाइनलको टिकट हारालुछ भएको घटनाले यो क्रम बढ्दो छ भन्ने बुझिन्छ ।
आगामी मे महिनाको १२ तारिखमा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलको टिकटको बुकिङ पनि यस्तै क्रेजको कारण २ मिनेटमै बन्द भएको छ ।
करिब ३९ हजार दर्शक अट्ने हैदराबादको राजिभ गान्धी स्टेडियमको टिकट बिक्री यति छिटो सकिएपछि यो विषय चर्चाको केन्द्र बिन्दुमा रहेको छ ।
सामान्यता स्टेडियमले २५ देखि ३० हजार टिकट बिक्रीको लागि राख्दछन् । टिकट बुकिङको बेला १५ सय, २ हजार, २५ सय र ५ हजार सम्मको टिकट मात्र खरिद गर्न सकिने रहेको खबरहरु आइरहेका छन् । १० हजार, १२ हजार ५ सय, १५ हजार र २२ हजार ५०० मुल्यको टिकट बिक्रीमै नभएको बताइन्छ ।
१५ सय भारु देखि २२ हजार ५ सय भारुसम्म मुल्य रहेको ति टिकट यति छिटो कसरी सकियो भनेर व्यापक प्रश्न उठेको छ । केहिले फ्रान्चाइज टोलीहरुले नै ठुलो संख्यामा टिकट बुक गरेको आशंका गरेको छ ।
फाइनलमा मुम्बई इन्डियन्सले स्थान बनाइसकेको छ भने आज हुने दोश्रो क्वालिफायरबाट अर्को फाइनलिस्ट टोलीको निक्र्यौल हुँदैछ । आज हुने खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स बिचको विजेताले फाइनलमा मुम्बईको सामना गर्नेछ ।















