सर्लाहीबाट भारतीय गाडी र २ नेपालीसहित २ क्विन्टल गाँजा बरामद
२ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले २ क्विन्टल भन्दा बढी गाँजासहित २ नेपाली र एक भारतीय गाडीलाई नियन्त्रणमा लिएको छ।
बुधबार साँझ साढे ७ बजे लालबन्दी नगरपालिका–६ संगम लामाको घरबाट प्रहरीले ताला फुटाएर ६० किलो गाँजा बरामद गरेको थियो भने लालबन्दी–७ कै एक अस्पताल छेउबाट प्रहरीले भारतीय गाडीबाट १ सय ५० किलो गाँजा बरामद गरेको थियो।
अस्पताल नजिक पार्किङ गरेर राखिएको बिआर ३०पी १४५८ नम्बरको भारतीय गाडीबाट ७ वटा प्लाष्टिकको बारोमा राखेको अवस्थामा १ सय ५० किलो गाँजा बरामद भएको हो। उक्त गाँजासहित प्रहरीले लालबन्दी–७ का सनोजराज घिमिरे र पर्साको वीरगञ्ज महानगरपालिका–१८, भिस्वाका २२ वर्षीय सिधु सिंहलाई पक्राउ गरेको छ।
उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय लालबन्दी पठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरुले सर्लाहीका विभिन्न क्षेत्रबाट लागुऔषधको बिक्री तथा ओसारपसार गर्ने गरेको प्रहरीले जनाएको छ।
उनीहरु विगत लामो समयदेखि अबैध लागुऔषध गाँजाको कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानएको छ। – नेपाल लाइभ















