नेपालको लगातार तेस्रो हार
चीनको नानिङ सहरमा जारी टोटल बीडब्लूएफ सुदिरमान कप–२०१९ मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल तेस्रो खेलमा न्युजिल्यान्डसँग ४–१ ले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा आयरल्यान्डसँग ५–० ले तथा अस्ट्रेलियासँग ३–२ ले पराजित भएको थियो ।
बुधबार भएको मिक्स टिम च्याम्पियनसिपअन्तर्गत ५ विधाको पुरुष एकलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङले मात्रै जित हात पार्दा अन्य चार विधा महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्स सबैमा पराजित हुन पुग्यो ।
रत्नले इडवार्ड लोउमाथि २१–१० र २४–२२ को जित निकालेको थियो । पुरुष डबल्समा रत्न र दीपेश धामीको जोडी ओलिभ डेन डेभिस र अभिनभ मनओटासँग २–१ को सेटमा पराजित भयो । पहिलो सेट १९–२१ ले गुमाएको रत्न र दीपेशको जोडीले दोस्रो सेट २३–२१ ले जित्दै खेललाई १–१ को बराबरीमा ल्याएको थियो । तर, तेस्रो सेटमा २१–१३ ले सहजै पराजित हुन पुग्यो । मिक्स डबल्समा दीपेश धामी र अमिता गिरीको जोडी ओलिभर लेडन डेभिस र अनोना पाकको जोडीसँग २१–७ र २१–७ ले पराजित भयो ।
महिला एकलमा नङ्सलदेवी तामाङ सल्ली फुसँग २३–२१ र २१–१२ ले पराजित भइन् । महिला डबल्समा अमिता गिरी र नङ्सलको जोडी एल्यासा ट्याग्ली र जस्टिन भिलेगाससँग २१–१७ र २१–१५ ले पराजित भयो ।
यससँगै नेपाल ५ सिरिजको खेलको तीन चरणको खेल सकिँदा नेपाल ३–० ले पछि परेको छ । नेपाली टोलीले मिक्स टिम च्याम्पियनसिपअन्तर्गतको ५ विधामा प्रतिस्पर्धा गर्नेछ । जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्स रहेका छन् । एक राष्ट्रले पाँचै विधामा प्रतिस्पर्धा गर्नुपर्नेछ । – राजधानी दैनिक















