भारतीय पक्षको लापर्बाहीका कारण, ९० परिवार सम्पर्कविहीन

ए वान डेस्क
१२ जेष्ठ २०७६, आईतवार ११:०९

राजविराज । पछिल्लोपटक कोसी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोसी नदीमा बनाएको प्यालट च्यानलमा शुक्रबार साँझ एक्कासि पानी छोड्दा हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढा गाउँका ९० परिवार सम्पर्कविहीन भएका छन् ।

बस्तीको पश्चिमतर्फबाट खनिएको करिब १७ किलोमिटर लामो प्यालट च्यानलमा पानी भारतीय पक्षले कुनै जानकारी नै नगराई एक्कासि पानी छोडेपछि त्यस क्षेत्रका बासिन्दाको यस्तो हाल भएको हो ।

उक्त च्यनलमा पानी छोड्दा स्थानीयस्तरमा पूर्वजानकारी गराउनुपर्नेमा भारतीय पक्षले कुनै जानकारी नै नगराई एक्कासि पानी छोडेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले बताए । बर्खायाममा पानीको मुहान नै थुन्नेगरी भारतीय पक्षले एकतर्फी रूपमा बनाउने बाँधका कारण जिल्लाका विभिन्न भूभाग डुबानमा पर्ने गरेका छन् । यस्तै डुबानमा पर्ने समस्या समाधान हुन नपाउँदै पुनः त्यस्तै प्रकृतिको व्यवहारले हनुमाननगर कांकालिनी नगरपालिकाका ९० परिवार सम्पर्कविहीन भएका छन् ।

आपत्कालीन बचाउका लागि नगरपालिकाद्वारा राखिएको दुई थान ढुंगासहित करिब आधा दर्जन ढुंगासमेत पानीले बगाएर लगेको साहले जानकारी दिए । यसका अतिरिक्त गाउँलेले घरआँगनमा राखेको काठ, दाउराका साथै केही पशुचौपायसमेत पानीको बेगले बगाएर लगेको प्रमुख साहले बताए ।

सम्पर्कविहीन भएकासँग सम्पर्कको प्रयास गरिरहेका छौं, प्रमुख साहले भने, ‘तर, नदीको बहावले सिंगो बस्ती नै घेरिएपछि सम्पर्कको प्रयास असफल भएको छ ।’ उनले यस्तै अवस्था जारी रहे स्थिति झन् विकराल हुने अवस्था देखिएको बताए ।– राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*