नेताले भत्काए क्रिकेट रंगशालाको बार, १६ जना पक्राउ

ए वान डेस्क
१५ जेष्ठ २०७६, बुधबार १५:३८

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएको अभियोगमा १६ जना स्थानीय पक्राउ परेका छन्। बुधबार बिहान उनीहरुले डोजर लगाई जस्ताको बारसहतिका संरचना भत्काएको धुर्मुस–सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन । फाउण्डेसनको साइट अफिसका घरमालिक सुरेन्द्र विक, स्थानीय नेकपा नेता प्रकाश कँडेल लगायतका स्थानीयले भत्काएको प्रहरीले जनाएको छ ।

संरचना भत्काएको अभियोगमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफ्नो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाएका थिए ।

शीत्तलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनीहरुको रहेको प्रहरीले जनाएको छ । बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रेणुले भनिन् : दुःखद यसैबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घट्ना दुःखद भएको बताएकी छन् ।

उनले छलफलबाट समस्या समाधान नगरीे तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको जानकारी दिइन्। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध गर्ने जोकोहीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

उनले दोषीलाई कानुनी दायरामा ल्याइने बताए। कृषि तथा वन विज्ञान विश्वविद्यालयको २० विघा ६ कठ्ठा जग्गामा महानगरले अर्को स्थानमा सट्टाभर्ना दिएर रंगशाला निर्माण भइरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेसनले आगामी भदौमा शिलान्यास गर्ने गरी निर्माणपूर्वका विभिन्न काम गरिरहेको अवस्थामा तारबार भत्काइएपछि चुनौती बढेको छ। – थाहा खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*