तीन दिनसम्म हावाहुरी र मेघगर्जनसहित वर्षाः मौसमविद्
आज (बिहीबार) देखि तीन दिन अर्थात् शनिबारसम्म देशका धेरै ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद् मञ्जु बासीका अनुसार पश्चिमी तराई क्षेत्रबाहेक बाँकी भूभागमा आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने सम्भावना देखिएको हो।
उनका अनुसार आज पूर्वका तराई र पहाड दुवै तथा मध्य र पश्चिम क्षेत्रका पहाडी भेगमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको छ।
पूर्वी क्षेत्रमा दिउँसोदेखि नै तथा काठमाडौं उपत्यकासहित मुलुकको पहाडी भेगमा साँझपख मेघ गर्जनसहित वर्षा हुने संकेत देखिएको मौसमविद् बासीले बताइन्।
मध्य र पश्चिमका तराई क्षेत्रमा भने आज सामान्यतया मौसम सफा नै रहने देखिएको मौसमविद्ले बताएका छन्।
पश्चिमी तराई क्षेत्रमा भने मौसम बदलीको सम्भावना नरहेको मौसमविद् बासीले बताइन्। ‘त्यहाँ अझै १/२ दिन मौसमी गतिविधि हुने देखिँदैन,’ उनले भनिन्, ‘त्यसैले त्यहाँ गर्मी बढिरहेको छ।’
मौसमविद्का अनुसार भारतको उत्तर प्रदेश बिहारमा बनेको न्यून चापीय रेखाका कारण नेपालमा मौसम बदली भइरहेको हो।
‘यो प्रणाली पूर्वबाट बिस्तारै पश्चिमतर्फ सर्ने क्रममा छ,’ मौसमविद् बासीले भनिन्। केही दिनपछि भने पश्चिमी तराईमा पनि मौसम बदली भई गर्मी घट्ने अनुमान मौसमविद्ले गरेका छन्। – नेपालखबर















