अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला: धुर्मुस-सुन्तलीका लागि कति सहज?
स्थानीय बासिन्दाले जस्तापाताको बार भत्काइदिएपछि चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।
भरतपुर महानगरपालिका-१५ शान्तिचोकमा धुर्मुस सुन्तली फाउन्डेशनले सार्वजनिक लगानीमा निर्माण सुरु गरेको रङ्गशालाको बार बुधवार स्थानीयवासीले डोजर लगाएर भत्काएका थिए।
घटनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै धुर्मुस सुन्तली फाउन्डेशनका धुर्मुस अर्थात् सीताराम कट्टेलले आफूहरूलाई पटकपटक धम्की दिनेहरूले नै घटना गराएको बताए।
उनले भने,”निःस्वार्थ भावनाले अहोरात्र खटिरहँदा केही भिडले एउटा प्रहार गर्यो। त्यो हामीमाथि गरिएको प्रहार होइन, सिङ्गो विकासमाथि गरिएको प्रहार हो।”
आफू हत्तपत्त रुने मान्छे नभए पनि घटनापछि रोएको कट्टेलले बताए। “कुनै पनि गलत वा बनावटी कुरा गरेको छु भने म अहिले नै त्यो परको रूखमा झुन्डिन तयार छु,” भावुक हुँदै उनले भने।
बाटोसम्बन्धी पुरानो विवादको कारण बार भत्काइएपछि प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।
घटनापछि विभिन्न राजनीतिक दल, स्थानीय सङ्घसंस्था र स्थानीय सर्वसाधारणको पहलमा सो बार सहमति भएपछि तत्कालका लागि समस्या टरेको छ।
आर्थिक पाटो त छँदैछ, तर फाउन्डेशनका अध्यक्ष कट्टेलकै भनाइ सुन्दा चितवनमा क्रिकेट रङ्गलाशा निर्माण त्यति सहज नहुने स्पष्ट रूपमा बुझ्न सकिन्छ।
बार किन भत्काइयो?
बाटोसम्बन्धी विवादका कारण झन्डै डेढ किलोमिटर बार स्थानीयवासीले बुधवार चार घण्टा लगाएर भत्काएका थिए।
उक्त स्थानमा २०२६ सालदेखि नै बाटोसम्बन्धी विवाद रहिआएको छ।
एकापट्टि कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गा र अर्कोतर्फ स्थानीय बासिन्दाको जग्गा भएको कारण बाटोका लागि कसले जग्गा छाड्ने भन्ने विषयमा विवाद हुँदै आएको स्थानीयवासीको भनाइ छ।
हाल छ मिटर रहेको बाटो रङ्गशाला बन्ने भएपछि ३१ मिटरको बन्छ भन्ने हल्लाका कारण स्थानीय बासिन्दा सबै जग्गा जाने त्रासमा रहेको देखिन्छ।
फाउन्डेशनका अनुसार डीपीआर अर्थात् विस्तृत परियोजना प्रतिवेदन तयार भइनसकेको कारण बाटोको चौडाइका बारेमा निर्णय भएको छैन।
स्थानीय बासिन्दाको सल्लाह र समन्वयमा नै लगाएको बार भत्काइएकोमा आफूलाई अचम्म लागेको कट्टेलले बताए।
खाडीमा रगतपसिना बगाएर काम गर्ने नेपालीहरूले दिएको रकमबाट किनिएको ६५ लाख रुपैयाँ बराबरको जस्तापातामाथि डोजर चलाउने काम ठूलो अपराध भएको उनले टिप्पणी गरे।

बाटोको विवाद
स्थानीय बासिन्दाले शान्तिचोकबाट रामपुर जोड्ने बाटो खोल्ने विषयमा तत्कालीन रामपुर क्याम्पस र स्थानीय बासिन्दाबीच कुरा नमिल्दा बाटो खुल्न सकेको थिएन।
उक्त जग्गा रङ्गशालालाई दिने सरकारी निर्णयपछि स्थानीयवासीले २० प्रतिशत आफ्नो र ८० प्रतिशत रङ्गशालाले बाटोका लागि जग्गा छाड्नुपर्ने भन्दै वडा कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए।
तर वडा कार्यालयबाट टुङ्गो लाग्न नसकेपछि भरतपुर महानगरपालिकामा सो पत्र पठाइएको छ।
डीपीआरको काम अन्तिम चरणमा पुगेको र सो प्रतिवेदनअनुसार बाटोलाई कति जग्गा आवश्यक पर्छ त्यसअनुसार अगाडि बढ्ने भन्दाभन्दै पर्खाल भत्काइएको फाउन्डेशनको भनाइ छ।
मङ्गलपुर-७, प्रकृति टोलका सङ्गम लामाले प्रश्न गरे, “रङ्गशालालाई २० बिघा जग्गा दिन सक्नेले स्थानीयवासीलाई २० मिटर बाटो दिन नसक्ने हुन्छ?”
स्थानीयवासीको स्वार्थ भनेको आफ्नो जग्गा कम छोडी ठूलो बाटो निर्माण हुनुपर्ने देखिएको छ।
https://twitter.com/blueocean9876/status/1134682770117148672
https://twitter.com/bishwaprakash77/status/1133940739652513793
बार भत्काइएपछि सो घटनाबारे सामाजिक सञ्जालमा पनि व्यापाक चर्चा भयो।
धेरैले रङ्गशालाा निर्माणको पक्षमा धुर्मुस र सुन्तलीप्रति सहानुभूति प्रकट गरेका छन् भने केहीले सर्वसाधारण मार्कामा पर्नु नहुने विचार व्यक्त गरेका छन्।
https://twitter.com/Nikshhu_p97/status/1134260389590458368
https://twitter.com/BishwaBlackboy/status/1134468650780504064
महानगरको बेवास्ता
बाटोको माग गरेर महानगरमा ज्ञापनपत्र आइसकेपछि तत्काल त्यसको सम्बोधन नगर्दा यो अवस्था आएको स्थानीय बासिन्दा बताउँछन्।
“[उनीहरूले गरेको] बाटोको मागबारे विश्वविद्यालयसँग समेत छलफल गर्नुपर्ने भएकोले रङ्गशालाको डीपीआरपछि गर्ने भनिएको हो,” भरतपुर नगरपालिका प्रमुख रेणु दाहालले भनिन्।
उनका अनुसार बाटोका लागि ५५० मिटर जग्गा रङ्गशालाको र १,१५० मिटर विश्वविद्यालयको पर्छ।
गत माघदेखि फाउन्डेशनले त्यहाँ कार्यालय स्थापना गरी डीपीआरको काम गरिसकेको छ।
अहिले रूख काट्ने, जराफाल्ने, मैदान सम्याउने र पिचका लागि माटो प्रशोधन गर्ने काम भइरहेको छ।

छवि ‘धूमिल’
राष्ट्रिय गौरवको आयोजनामा परेको निर्माणाधीन रङ्गशालाको संरचनामा क्षति पुर्याउने कामले आफ्नो छवि धूमिल भएको केही सर्वसाधारणको बुझाइ छ।
लक्ष्मी भट्टराई भन्छिन्, “अब समस्याको समाधान गरेर काम अगाडि बढाउनुपर्छ। बाटोको विषयमा छलफल हुँदाहुँदै पर्खाल भत्काउन हतार गर्नु राम्रो भएन।”
रङ्गशालाको बार भत्काएको आरोपमा १८ जनालाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्।
तर स्थानीय बासिन्दाले उक्त घटनामा निर्दोष पनि पक्राउ परेको भन्दै उनीहरूलाई रिहा गर्नुपर्ने माग गरेका छन्।

पाँचवटा टोल विकास समिति र फाउन्डेशनबीच भत्काइएको बार स्थानीय बासिन्दाले बनाइदिने र काम अगाडि बढाउने सहमति भएको छ।
घटनापछि राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा रङ्गशालाबारे गलत सन्देश गएको भन्दै स्थानीय बासिन्दाहरूको पहलमा नै उक्त सहमति भएको हो।
झन्डै तीन अर्ब रुपैयाँको लागतमा बन्ने भनिएको रङ्गशालाका लागि छ करोड ५० लाख रुपैयाँ सङ्कलन भइसकेको फाउन्डेशनले जनाएको छ। bbc.com















