देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना

ए वान डेस्क
२२ जेष्ठ २०७६, बुधबार १०:४७

आज (बुधबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज पूर्व र मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना देखिएको छ।

पूर्वी क्षेत्रमा अहिले मौसम बदली हुने क्रम बढ्दै गएको र कुनै पनि बेला वर्षा हुने अवस्था रहेको उनले बताए।

उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा पनि अहिले मौसम बदली भएको छ।

‘काठमाडौंमा दिउँसा या साँझपख पानी पर्न सक्छ,’ उनले भने, ‘काठमाडौंमा बिहान एक/दुई स्थानमा छिटफुट वर्षा भइसकेको छ।’ तर हावाहुरीको सम्भावना नरहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।

यसैगरी आज साँझपख पश्चिम पहाडी क्षेत्रमा अपराह्नपछि वा साँझपख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तर पश्चिमी तराईमा भने आज पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद्को भनाइ छ। ‘पश्चिमी तराईमा आज पनि पानी पर्ने प्रणाली बलियो देखिएको छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘तर मौमस बदली भएकाले तापक्रमचाहिँ घटेको छ ।’

किन दिनहुँ भइरहेको छ वर्षा?
ठूलो पानी नपरे पनि केही दिनयता विशेषगरी साँझपख मुलुकका कुनै न कुनै स्थानमा पानी परिरहेको छ।

मौसमविद्का समीर श्रेष्ठका अनुसार केही दिनयता दिनहुँ पानी पर्नाका मुख्य कारण बंगाल खाडीबाट आइरहेको जलवाष्पयुक्त हावा हो।

नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने उक्त हावाका कारण केही दिनयता दिनहुँ वर्षा भइरहेको उनको भनाइ छ। साथै वायुमण्डलको माथिल्लो तहमा पश्चिमी वायुको प्रभावले पनि मौमस बदली तथा वर्षा गराउन मद्दत पुगेको उनको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म मौसम खुल्ने सम्भावना छैन। आजदेखि तीन दिनसम्म अधिकांश स्थानमा बदली भई विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ। – नेपालखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*