नेपालमा हिन्दी फिल्म बुधबार नै रिलिज गर्न अदालतको आदेश
जिल्ला अदालत काठमाडौंले हिन्दी फिल्म ‘भारत’लाई बुधबार नै नेपाल रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेपछि सिनेमा रिलिजको ‘बार’ विवाद फेरि चुलिएको छ । नेपालमा विभिन्न संघसंस्थाको सहमतिमा शुक्रबार मात्रै फिल्म रिलिज गर्ने सहमति भएको थियो । विदेशी तथा नेपाली सबै फिल्म सहमतिमा शुक्रबार रिलिज हुँदै आएका थिए तर अदालतको पछिल्लो आदेशले विदेशी फिल्म जुनसुकै बार रिलिज गर्न पाउने बाटो खुला भएको छ ।
शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस् इन्टरटेनमेन्टका तर्फबाट मनोज राठीले रिट दायर गरेका थिए । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्नसमेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । यसअघि हिन्दी फिल्म ‘कलंक’ पनि बुधबार नै रिलिज गर्न खोज्दा विकास बोर्डको पहलमा शुक्रबार मात्रै रिलिज गर्न दिइएको थियो ।
अदालतको आदेशपछि सलमान खान स्टारर हिन्दी फिल्म ‘भारत’ बुधबारदेखि नेपालमा पनि रिलिज हुँदैछ । यसको असर रिलिज भएका नेपाली फिल्ममा पर्नेछ । नेपाली फिल्म ‘जात्रै जात्रा’ र ‘कुम्भ करण’का सोहरू मल्टिप्लेक्सबाट कटौती हुनेछन् । यसैबीच चलचित्र निर्माता संघले विज्ञप्ति जारी गर्दै वितरकले जुनसुकै बार विदेशी चलचित्र रिलिज गर्न दिएको आदेशप्रति असन्तुष्टि जनाएको छ ।
संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपालका चारवटा ठूला चाडपर्व (दसैं, तिहार, तीज र नयाँ वर्ष)का निश्चित बिदाका दिनबाहेक अन्य मितिमा अनिवार्य रूपमा शुक्रबार मात्र फिल्म प्रदर्शन गरिनुपर्ने नियम र पद्धति छ । शुक्रबारअगावै विदेशी फिल्म प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको सुन्नमा आएको हुँदा यस विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विदेशी फिल्म पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने भन्दै विकास बोर्डले निर्णय गरेको थियो । यसको चौतर्फी प्रशंसा पनि भएको थियो । विदेशी फिल्म अन्य दिन प्रदर्शनमा आउँदा नेपाली फिल्म चेपुवामा पर्ने गरेका छन् ।
विदेशी फिल्म फिक्समा ल्याएर नेपालमा जुनसुकै दिन रिलिज गर्न पाउनुपर्ने वितरक र हलवालाको तर्क छ । विदेशी फिल्म रिलिजबारेमा स्पष्ट नीति राज्यको छैन । प्रदर्शन र वितरणको विषयमा चलचित्र संघ र निर्माता संघको सम्झौताअनुसार अघि बढ्दै आएको छ । तर, त्यो सम्झौतापत्रमा पनि विदेशी फिल्मको विषयमा कुनै स्पष्ट धारणा छैन । – अन्नपूर्ण पोस्ट















