यूएईमा बेचिएकी अस्मितालाई सर्लाही सेवा समाजले घर फर्कायो
कामका लागि विदेश गएका नेपाली यूवाहरुले विदेशमा बसेर पैसा मात्रै कमाएका छैनन्, आफुले कमाएको पैसाको केही अंश जोगाएर समाज सेवा समेत गरेका छन् । कामको शिलसिलामा विदेशमा अप्टेरोमा परेकाहरुलाई सहयोग गर्न भनेर विदेश गएका यूवाहरुले विदेशमा संघ संगठन समेत चलाएका छन् । आफुहरुले खोलेको संगठन मार्फत नै केही पैसा जम्मा गरेर उनीहरुले आपत विपत र समस्यामा परेका नेपालीहरुलाई नै सहयोग गर्ने गरेका छन् ।
यसै क्रममा कतारमा कार्यरत सर्लाहीका यूवाहरुको संगठन सर्लाही सेवा समाज यूएईले दलालको झुठो प्रलोभनमा परी भारतको बाटो हुँदै यूएई पु-याईएकी हरिवन ५ की अस्मिता बज्यू तामाङ्गलाई उद्धार गरेको छ ।
यूएईका दलाल सुजन तामाङ्गले अस्मितालाई अल याहर हाउस मेड कम्पनीसँग मोटो रकम लिएर बेचेको र हरिवनकी अस्मिता सहित श्रीलंका, बाङ्गलादेश लगायत देशका १० जना चेलीहरुलाई कम्पनीले अल ऐन स्थित कम्पनीकै आवासगृहमा ८ महिनासम्म बन्दी बनाएर राखेको अस्मिताले आफ्नो दाईलाई बताएको सर्लाही सेवा समाज यूएईले जानकारी दिएको छ ।
अस्मिता बन्धक भएको जानकारी उनकै दाई मार्फत समाजका पूर्व महासचिव विनेश कार्कीले गराए पछि आफुहरुले अस्मिता उद्धारको लागि चासो दिएको समाजका अध्यक्ष फलेन्द्र बलम्पाकी मगरले बताए । अस्मितालाई बन्दी अवस्थाबाट उद्धार गरी उनको स्वास्थ्य परिक्षण पश्चात सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी समाजले नै हवाई टिकटको व्यवस्था गरी नेपाल फर्काइएको सर्लाही सेवा समाज यूएईका महासचिव ईन्द्र सेन्चुरीले बताए ।
‘एउटा नेपाली त्यसमा पनि आफ्नै गाउँघरकी चेली दुःखमा परेको छ भनेर थाहा पाए पछि हामी चुप लागेर वस्न सकेनौं, साथीहरुसँग सल्लाह गरेर उनको उद्धार गरेका हौं ।
केही पनि नेपालीले विदेशमा दुःख नपाओस भन्ने हाम्रो चाहाना छ’, सर्लाही सेवा समाज, यूएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगरले भने, ‘कोही पनि रहरले विदेश आएको हुँदैन, काम गर्छु पैसा कमाउछु भनेरै आएको हुन्छ, तर विदेशमा सोचे जस्तो नभई दिँदा दुःख पाउनु परेको छ ।
विदेश कमाउन आएका केही पनि नेपालीले दुःख नपाउन, उनीहरुको दुःख पिडामा मल्हमपट्टी बन्न सकौं भनेर नै हामीले सर्लाही सेवा समाज यूएई गठन गरेका हौं ।’ समाजले त्यही अनुरुप काम समेत गरी रहेको छ । – राजधानी दैनिक















