बाराका हावाहुरी पीडित बने आन्दोलित

उज्यालो अनलाईनबाट
ए वान डेस्क
३२ जेष्ठ २०७६, शनिबार १६:१६

हावाहुरीले घरबारविहीन बाराको प्रसौनी गाउँपालिका–४ खुटवा जब्दीका ८१ घरपरिवार आन्दोलित भएका छन् ।

सरकारले घर निर्माण गर्ने सूचीमा आफूहरुको नाम नसमेटेको भन्दै आन्दोलित भएका उनीहरुले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । हावाहुरी पीडित महिला पुरुषहरुले शनिबार खुटवा जब्दीमा क्चाे जुलुस प्रदर्शन गर्दै वडाध्यक्ष र गाउँपालिका अध्यक्षको पुतला समेत जलाएका छन् ।

फरक राजनीतिक आस्था भएका कारण वडाध्यक्ष र गाउँपालिका अध्यक्षले ८१ पीडितहरुको नाम घर निर्माणको सूचीमा सिफारिस नगरेको स्थानीय ललिता देवी साहले आरोप लगाउनु भयो । स्थानीय भोला साह, मायाशंकर ठाकुर, निरंजन साह, महन्थ ठाकुर, रामबाबु साहलगायत ८१ घर परिवार अझै पाल र भत्केको घरमा नै बसिरहेका छन् ।

सुरुमा सूची तयार गर्दा एक सय ५७ जनाको नाम पूर्ण क्षति भएको सूचीमा उल्लेख भइ गृह मन्त्रालयबाट आएकोमा अहिले नेपाली सेनाले घर निर्माण गर्ने बेला ८१ जनाको नाम हटाइएको खुटवा जब्दीका पीडित नुरुलहोदाले गुनासो गर्नुभयो। आफूहरुले खुल्ला आकाशमुनी खाना बनाउँदा पनि राज्यले देख्न नसकेकोमा आक्रोश व्यक्त गर्दै पीडित ललिता देवी साहले भन्नुभयो, ‘हुरीले पीडा दियो, राज्यले समेत पीडा बुझेन ।’

प्रसौनी गाउँपालिकाका नेकपा नेता विनोद जैसवारले राजनीतिक आस्थाको कारण वडाध्यक्ष र गाउँपालिका अध्यक्षले हावाहुरी पीडितहरुको नाम घर निर्माण सूचीमा समावेश नगरेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी बाहेकका पार्टिमा आस्था राख्ने पीडितहरुको नाम घर निर्माणको सूचीबाट हटाइएको आरोप लगाउनुभयो ।

वडाध्यक्ष र गाउँपालिका अध्यक्ष राष्ट्रिय जनता पार्टीबाट निर्वा्चित भएका हुन। वडाध्यक्ष आनन्द गुप्ताले हावाहुरी पीडित केही व्यक्तिको नाम घर निर्माणको सूचीबाट हटाइएको स्वीकार गर्दै त्यसको जिम्मेवार आफू नभएको बताउनु भयो । उहाँले पीडितहरुको नाम जिल्ला प्रशासन कार्यालयले सूचीबाट हटाएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*