सिमरामा ईलाका प्रहरी कार्यालयको नया भवन बन्ने
चार दशकदेखि जीर्ण भवनबाट सुरक्षा प्रदान गर्दै आएको सिमरास्थित इलाका प्रहरी कार्यालयको नयाँ भवन बन्ने भएको छ । बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले सोमबार बिहान एक कार्यक्रमकाबीच नयाँ भवनको शिलान्यास गरेका छन् ।
करिब ६ करोड १८ लाखको लागतमा बन्न लागेको भवनको निर्माण कार्य एक वर्षमा सम्पन्न हुने बताइएको छ । डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलेपमेन्ट (डिएफआईडी) युकेको आर्थिक सहयोग र युनाइटेड नेशन्स अफिस प्रोपोज सर्भिसको परामर्शमा भवन बन्न लागेको हो ।
स्थानीयस्तरबाट उपलब्ध जग्गामा बन्न लागेको भवन आधुनिक हुने इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए । पुरीका अनुसार अढाई तल्ले प्रशासनिक साढे तीन तल्ले आवास निर्माण हुने लागेको हो ।
भवन निर्माणको जिम्मा काठमाडौंको लामा कन्ट्रक्सनले लिएको छ । लामो समयदेखि सानो र साँघुरो भवनबाट सेवा प्रदान गर्नुपर्दा समस्या भइरहेकाले आधुनिक भवन निर्माणपछि सेवा प्रदान गर्न अझ सहज हुने प्रनाउ पुरीले बताए ।
आवश्यक जनशक्ति र पूर्वाधार अभावकाबीच इलाका प्रहरी कार्यालय सिमराले औद्योगिक करिडोरसहित ठूलो क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ । सिमरा बिमानस्थलबाट आवतजावत गर्ने भिआईपीलाई समेत इप्रका सिमराले सुरक्षा दिइरहेको छ । सिमरा सहरी क्षेत्रको रुपमा विकास हुदै गएपछि प्रहरीमाथि सुरक्षा चुनौती पनि थपिदै गएको छ ।
यसअघि स्थानीयको अनुरोधमा २०२९ सालभन्दा अघि प्रहरी हवल्दारको कमाण्डमा सिमरामा प्रहरी थाना स्थापना भएको थियो । सोही स्थानमा जनशक्तिअनुसार पूर्वाधार थप्दै जाने क्रममा २०३४ सालमा सिमरामा प्रहरी निरीक्षकको कमाण्डमा इलाका प्रहरी कार्यालय स्थापना गरिएको थियो ।
इप्रका बनाइए पनि आवश्यक पूर्वाधार भने थिएन। लामो समय पुरानो भवनबाटै सेवा प्रदान गर्दै आएको इप्रकाले चार दशकपछि नयाँ भवन निर्माण गर्न लागेको हो ।
यो समाचार अन्नपुर्ण पोष्टका लागी दिवाकर भण्डारीले लेखेका हुन्















