कर्णालीमा जिप खस्दा बैठकमा हिँडेकी गाउँपालिका उपाध्यक्ष हमालसहित १५ बेपत्ता

ए वान डेस्क
३ असार २०७६, मंगलवार १६:०७

हुम्लामा यात्रुवाहक जिप कर्णाली नदीमा खसेको छ। हुम्लाको तल्लोखार्पुबाट सदरमुकामतर्फ आउँदै गर्दा लु १ ज ७१६६ नम्बरको जिप खार्पुनाथ गाउँपालिकाको वडा नं. ५ मा करिब ४५ मिटर तल नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार मंगलवार दिउँसो करिब १२ बजेको समयमा नदीमा खसेको हो।

सदरमुकाम सिमिकोटबाट झण्डै ९ किलोमिटर टाढाको दुरीमा रहेको उक्त दुर्घटना स्थलमा दुई वटा हेलिकप्टर सहित सुरक्षाकर्मी पुगिसकेको उनले बताए। घटनाको उद्धारका लागि हुम्लाको याङ्चुबाट प्रहरी सहायक निरीक्षक सन्तोश पालको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहकायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना घटनास्थल गएका छन् भने, नेपाली सेनाको सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगिसकेको छ।

‘खोलामा झोलाबाहेक केही देखिन्नँ’
स्थानीवासीका अनुसार जिपमा करिब १५ जना सवार रहेको जनाईएको छ। सोही जिपमा खार्पुनाथ गाउँपालिकाका उपप्रमुख सिन्धु हमाल (शाही)समेत थिइन्।

‘आज गाउँपालिकाको मिटिङ थियो। उपाध्यक्ष हमाल पनि यही जिपमा आउनु भएको थियो,’ खार्पुनाथ गाउँपालिकाका प्रमुख कर्णबहादुर रावलले पहिलोपोस्टसँग टेलिफोनमा भने, ‘अहिले म घटनास्थलमै छु।’

खोलामा जिप नदेखिएकोले गोताखोरको आवश्यक रहेको रावलले बताए। उनले भने, ‘जिप खोलामा खसेको हो। तर केही देखिन्नँ। एउटा झोला बगेको देखे। गोताखोर नै चाहिएलाजस्तो देखिएको छ।’
पहिलो पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*