मनसुन: नेपालमा पूर्वदेखि पश्चिमसम्मै पानी पर्न थाल्यो

ए वान डेस्क
८ असार २०७६, आईतवार १४:०८

नेपालमा १० दिन ढिलो गरी सुरु भएको मनसुन आइतवारबाट देशको पूर्वदेखि पश्चिमसम्मै सक्रिय भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सामान्य अवस्थामा नेपालमा जुन १० मा मनसुन सुरु हुने गर्छ। त्यसका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त वायु प्रवेश गर्नुपर्छ।

तर यो वर्ष जुन २० (असार ५ गते) देखि नेपालमा सुरु भएको मनसुन दुई दिनभित्र पूरै देशमा फैलिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

फलस्वरूप पछिल्लो २४ घण्टामा पूर्व र मध्य क्षेत्रसँगै सुदूरपश्चिममा अधिकांश स्थानमा वर्षा हुनथालेको छ।

वर्षा
त्यो अवधिमा नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा क्रमश: ७९, ३४ र ९ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

काठमाण्डूमा २४ मिलिमिटर वर्षा भएपनि पूर्वी नेपालमा निकै कम पानी परेको छ।

अब मनसुन सक्रिय भइसकेकोले वर्षा हुने क्रम आउने दिनमा जारी रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तल्ला भेगमा वर्षा हुँदा हिमाली भेगमा हिमपात हुने क्रम पनि सुरु भइसकेको छ।

वर्षा सुरु भएसँगै आकासे पानीमा निर्भर देशका विभिन्न भूभागमा धान रोपाइँ सहज हुने मौसमविद्को अनुमान छ।

मनसुन कमजोर हुने आकलन

नेपालमा सामान्य अवस्थामा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म लगभग १०० दिन दक्षिण एशियाली मनसुन सक्रिय रहने गर्छ।

मनसुनको अवधिमा नेपालमा हुने कुल वर्षाको झन्डै ८० प्रतिशत वर्षा हुने गर्छ।

यस वर्ष ढिलो सुरु भएको भए पनि मनसुनको अवधि कहिलेकाहीँ लम्बिएको पनि देखिन्छ।

“कहिलेकाहीँ सेप्टेम्बर २३ पछि पनि मनसुन चलिरहन सक्छ,” मौसम पूर्वानुमान महासाखाकी एक मौसमविद् शान्ति कँडेलले बीबीसीसँग भनिन्।

झन्डै दुई हप्ताअघि अरब सागरमा विकसित भएको एउटा शक्तिशाली समुद्री आँधीका कारण यो वर्ष पूरै भारतीय उपमहाद्वीपको मनसुनी प्रक्रिया बिथोलिएको मौसमविद्हरूले बताएका छन्।

अरब सागरमा बनेको आँधीका कारण नेपालमा मनसुन ढिलो

के हिजोआज भइरहेको वर्षा स्वाभाविक नै हो

भारतको गुजरात राज्यको तटीय क्षेत्रमा बज्रिने अनुमान गरिएको ‘वायु’ नामक सो समुद्री आँधी पछि बाटो परिवर्तन गरेर समुद्रतिरै फर्किएर निष्क्रिय भयो।

कमजोर मनसुनकहाँ, कहाँ

यो वर्षको मनसुन तुलनात्मक केही स्थानमा कमजोर हुने र ती भूभागमा सामान्यभन्दा कम वर्षा हुनसक्ने मौसम विभागको विश्लेषण छ।

मौसमविद्हरूको आकलन अनुसार “यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १, २, ३ र ५ का केही भूभागमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ।

तर, विभागको पछिल्लो मौसम विवरणमा भनिएको छ, “गण्डकी, कर्णाली र सुदूरपश्चिममा औसत वर्षा हुने अनुमान गरिएको छ।” – bbc.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*