खलासीजस्तो देखिएको भन्दै प्रिन्सिपलले कुटे शिक्षक

ए वान डेस्क
३१ असार २०७६, मंगलवार ११:३१

भोजपुरमा आफ्नै प्रिन्सिपलबाट एक शिक्षक कुटिएका छन्। सदरमुकामस्थित स्थानीय सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन्।

आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी हुने क्रममा आफूलाई प्रिन्सिपल आलेले आफ्नै चेम्बरमा बोलाएर टाइ र कोट नलगाएको निहुँमा कुटपिट गरेको पीडित शिक्षक अधिकारीले बताए। ‘आइतबार बिहान खाना खाएर सर्ट र पेन्ट लगाई उहाँको चेम्बरमा पुग्नसाथ ‘खलासीजस्तो भएर आउने’ भन्दै गाली गर्नुभयो,’ पीडित शिक्षक अधिकारीले भने, ‘जवाफमा मैले कसैको गाली खान आको हैन, मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासी कुटपिट गर्नुभयो।’

यसअघि पनि पटकपटक धम्की दिने गरेको भन्दै उनले आफूलाई गाला र ढाडमा कुटपिट गरेको सुनाए।यता प्रिन्सिपल आलेले भने,’ शिक्षकको व्यवहार नै अस्वभाविक भएकाले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको बताए।

विद्यालयमा टोलाउने, काम नगर्ने भएको कारण सम्झाएको मात्र उनले बताए।आफूमाथि कुटपिटको आरोप निराधार भएको आलेले बताएका छन्। शिक्षक अधिकारीको तलबमा समेत तलमाथि नगरेको उनले बताए।

ताप्लेजुङ सिरिजंघा गाउँपालिका १ घर भएका २८ वर्षीय अधिकारी विगत पाँच महिनादेखि उक्त विद्यालयमा कक्षा ७ देखि १० लाई अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँदै आएका थिए।

विद्यालयले नियुक्ति पत्र पनि नदिएको उनको गुनासो छ। प्रति महिनाको ३५ हजार पारिश्रामिकमा पढाउँदै आएका शिक्षक अधिकारीले विद्यालयले एक महिनाको तलब पनि रोक्का गरिदिएको उनको भनाई छ।

प्रिन्सिपलले आफूमाथि गरेको दुर्व्यवहारप्रति पीडित शिक्षक अधिकारी अहिले न्यायका लागि प्रहरी प्रशासनमा पनि पुगेका छन् ।भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफूकहाँ कारबाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समाधान गरिदिन पत्र पठाएको बताए ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले पनि दुवै पक्षलाई बोलाएर छलफल गरी समस्याको समाधान खोजिने बताए । नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तिर्थकुमार राईले एउटा श्रमजीविमाथि भएको कुटपिटमाथि आपत्ति जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*