धान रोपाइँ ८० प्रतिशत मात्रै, कम रोपाइँ हुनुमा यी हुन् मुख्य ३ कारण

ए वान डेस्क
१४ श्रावण २०७६, मंगलवार १४:४५

यस वर्ष धान रोपाइँ अघिल्लो वर्षको भन्दा निकै कम भएको छ। असारको अन्तिम साताबाट मात्र वर्षे मनसुन सक्रिय भएपछि कम रोपाइँ भएको हो। साउन १२ सम्ममा ८० दशमलव १८ प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि विभागले जनाएको छ।

अघिल्लो वर्ष सोही अवधिसम्म ८६ दशमलव ३१ प्रतिशत धान रोपाइँ सकिसकेको थियो। यस वर्ष सबैभन्दा कम प्रदेश नम्बर १ र प्रदेश नम्बर २ मा रोपाइँ कम भएको छ। प्रदेश १ मा ७१ र प्रदेश २ मा ७४ प्रतिशत मात्रै रोपाइँ सकिएको छ।

गत वर्षको सोही अवधिमा प्रदेश १ मा ७८ प्रतिशत र प्रदेश २ मा ९५ प्रतिशत रोपाइँ भइसकेको थियो।

यस वर्ष साउन १२ गतेसम्म भएको रोपाइँको अवस्था हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९४ दशमलव १७ प्रतिशत भइसकेको छ। भौगोलिक अवस्था अनुसार हेर्दा उच्च पहाडी क्षेत्रमा ९४ दशमलव ९२ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ८० दशमलव ६६ प्रतिशत र तराई क्षेत्रमा ७९ दशमलव ७८ प्रतिशत रोपाइ सकिएको छ।

कृषि विभागले गत वर्षको तुलनामा यस वर्ष कम धान रोपाइँ हुनुमा मुख्यतया ३ वटा कारण जिम्मेवार रहेको जनाएको छ।

विभागका अनुसार यसवर्ष वर्षे मनसुन ढिलो गरी मात्र सुरु भएका कारण, मनसुन सुरु हुने बित्तिकै बाढी तथा डुबान र तराईका अधिकांश जिल्लामा रासायनिक मलको अभावका कारण रोपाइँ कम भएको हो।

धानखेती हुने ठूलो क्षेत्रफल जमिनमा सिँचाइको सुविधा नहुँदा रोपाइँका लागि वर्षेपानीको भर पर्नुपर्ने अवस्था छ।

मुलुकको अर्थतन्त्र र कुल ग्राहस्थ उत्पादनको वृद्धिमा मुख्य भूमिका खेल्दै आएको धानबाली रोपाइँ अघिल्लो वर्षको तुलनमा आधाभन्दा बढीले घट्दा त्यसको असर आर्थिक वृद्धिदरमा पनि देखिने आंकलन गरिएको छ।

तराईमा मात्रै १२ लाख हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा धानखेती हुने गरेको छ। तर, यसवर्ष भने तराईका जिल्लामा नै कम रोपाइँ भएको देखिन्छ। हालसम्म तराईका जिल्लामा करिब ९ लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*