चट्याङ पर्ने सम्भावना देखाउँदै मौसम विभागले भन्यो- सतर्क रहनू
देशको पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहे पनि पुर्वी तराइसहित देशका अन्य भागमा मौसम सफा रहेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आउँदो तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा मंगलबार कतिपय स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर नेपालतर्फ सरेको छ।
मंगलबार दिउँसो देशको पश्चिमी भागमा सामान्य बदली हुने विभागले जनाएको छ। पूर्वी तथा मध्य भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। पश्चिमी पहाडको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै मंगलबार राति देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पूर्वी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। रातमा पनि केही स्थानमा वर्षा हुने सम्भावना छ।
बिहीबार देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ। रातमा पनि केही स्थानमा वर्षाको सम्भावना छ।
देशको केही स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन विभागले आग्रह गरेको छ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले देशभरका खोलामा पानीको बहाव घट्ने क्रममा रहेको जनाएको छ ।















