सिमरामा गाईजात्रा : मनोज गजुरेलदेखि काउली बुढिसम्म आउने
ए वान डेस्क /
प्रदेश नम्बर २ को बारामा पहिलो पटक गाईजात्रा कार्यक्रम हुने भएको छ । काठमाडौंमा मात्र केन्द्रित गाई जात्रा पहिलो पटक बारासहित देशको सात वटै प्रदेशमा हुन लागेको हो ।
ब्रान्डवर्थ प्रा.लीले बारासहित सात वटै प्रदेशमा गाई जात्रा कार्यक्रम गर्न लागेको कलाकार मनोज गजुरेलले जानकारी दिनुभयो । बाराको सिमरामा हुन लागेको प्रदेश प्रदेशमा गाईजात्रा कार्यक्रमको संयोजन होटल तथा पर्यटन व्यवसायी संघ बारा र सिमरा फाउण्डेशनले संयुक्त रुपमा गरेका छन् ।
‘सिग्नेचर प्रदेश प्रदेशमा गाई जात्रा’ नाम दिइएको कार्यक्रमलाई सफल बनाउन प्रदेश नम्बर २ मा तयारी तिब्र रुपमा भईरहेको छ । गाई जात्रा प्रदेश नम्बर एकको विराटनगरबाट सुरु हुने छ ।
विराटनगरमा साउन ३१ गते हुने उक्त गाई जात्रा कार्यक्रम धनगढी, सिमरा हुदै काठमाडौं पुगेर सकिनेछ । कार्यक्रम सिमरासंगै विराटनगर, हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, पोखरा र काठमाडौंमा हुने छ ।
राजनीतिक तथा सामाजिक व्यङ्ग्यमार्फत हसाउँदै जनतामा चेतना जाग्रित गराउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रमको तयारी तिब्र रुपमा भईरहेको होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले जानकारी दिनुभयो । कार्यक्रममा मनोज गजुरेलसंगै शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी, रवि डङ्गोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल, सुवोध गौतम, सन्ध्या बुढा, सुमन कार्की, रविना अधिकारीले आ–आफ्नो प्रस्तुती देखाउने सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेले जानकारी दिनुभयो ।
कार्यक्रम यही भाद्र १ गते सिमरामा हुदैछ ।















