फोटो पत्रकार महासंघ प्रदेश २ : पंकज श्रेष्ठको अध्यक्षतामा प्रदेश कमिटी चयन

ए वान डेस्क
२० फाल्गुन २०७६, मंगलवार १३:२९

नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा पंकज श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।महासंघको सोमवार सिमरामा सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा प्रभातकुमार झा, महासचिव दिवाकर भण्डारी, सचीव फणीदेव महत, सहसचिव परिश कर्ण, कोषाध्यक्ष गणेश साह रहेका छन् । यसैगरी समितिको सदस्यमा बिजय चौहान, श्याम गुप्ता, अच्युतम सापकोटा र नविन कुमार नवल चयन भएका छन ।

यसअघि अधिवेशनको उदघाटन नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले गरेका थिए । अधिवेशनको उदघाटन गर्दै अध्यक्ष चौहानले सामाजिक न्याय र समृद्धिका निम्ति फोटो पत्रकारको भुमिका अहम हुने बताए । पत्रकारितालाई विश्वसनीय बनाउन फोटोपत्रकारिताको महत्त्व बढ्दै गएको भन्दै अध्यक्ष चौहानले यसको समग्र विकासका निम्ति महासंघले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसि लामिछानेले फोटोपत्रकारितामा बढदो आकर्षणले समग्र पत्रकारिताको विकास हुनेमा आफू आशावादी रहेको बताए ।

फोटोपत्रकारिता विशुद्ध प्राविधिक बिषय रहेको र तस्वीरको माध्यमबाट समाजलाई सूसुचित गर्ने क्षेत्र रहेको हुँदा फोटोपत्रकारको दक्षता र क्षमता अभिवृद्धिका लागि प्रशिक्षणमुलक कार्यक्रम निरन्तर आयोजना गरिनुपर्ने बताए । नेपाल फोटोपत्रकार महासंघका केन्द्रीय महासचिव हरि रेग्मीले पत्रपत्रिका र टेलिभिजनमा फोटो, भिडियोको काम गर्ने पत्रकारहरुलाई संगठित बनाएर अघि बढाउन महासंघले भुमिका खेलिरहेको बताए ।

महासंघले काठमाडौं मात्र नभई देशका सबै जिल्लामा सक्रियरुपमा काम गर्ने पत्रकारहरुलाई संगठित गर्ने, फोटो र भिडियोको माध्यमबाट सम्बन्धित जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने, क्षमता अभिवृद्धि गर्ने लगायत गतिविधिलाई अघि बढाइरहेको बताए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठले फोटोपत्रकारिताको विकासका लागि निजगढमा तालिम केन्द्रको अवधारणासहित भौतिक पूर्वाधार निर्माणको तयारी गरिरहेको बताए । महासंघको बारा शाखाको नेतृत्वमा निर्माण हुने तालिम केन्द्रबाट दक्ष फोटोपत्रकार उत्पादन गर्न सकिने श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सचीव गुरुप्रसाद गौतमले प्रदेशको समग्र विकासका निम्ति फोटोपत्रकारिताको भुमिका अहम रहेको बताए । महासंघ प्रदेश २ तदर्थ समितीका अध्यक्ष राम सरराफको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण सचीव फणीदेव महतले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*