शुरु भयो ‘जीतपुरसिमरा गोल्डकप’ को ११औ संस्करण

ए वान डेस्क
३१ चैत्र २०७७, मंगलवार २०:०३

ए वान डेस्क /

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता जीतपुरसिमरा गोल्डकपको ११औं संस्करण आजदेखि शुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिल्वालले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन गर्दे सदस्य सचिव सिल्वालले खेल क्षेत्रको विकास गर्न सम्बद्ध सबै निकाय गंभिर हुनुपर्ने बताउनुभयो । सिमरा रंगशालाको विकास गर्ने बिषयमा आफु गंभिर रहेकोभन्दै उहाले यसमा सबै पक्षको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेल सफल्ताको शुभकामना दिनुभयो ।

प्रदेशसभा सदस्य शोभा लामाले जीतपुरसिमरा गोल्डकपले सिमराको विकासमा ठुलो भुमिका खेलेको बताउनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले जीतपुरसिमरा गोल्डकपलाई सभ्य र भब्य बनाउन उपमहानगर प्रतिवद्ध रहेको बताउनुभयो । खेल क्षेत्रको सुधार एवं विकास गर्न उपमहानगर प्रतिवद्ध रहेकोभन्दै उहाले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले प्रतियोगिता सफल्ताको कामना गर्नुभयो ।

नव जनजागृती युवा क्लब सिमराको आयोजनामा आजदेखि शुरु भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा यसबर्ष मोफसलका सात, ए डिभिजनका चार र एक विदेशी गरी १२ टिमको सहभागिता रहेको छ । १०औं संस्करणमा १० टिमको सहभागिता रहेपनि यस पटक दुई टिम थप गरी १२ पु¥याइएको छ ।

यस वर्ष साविक उपबिजेता त्रिभुवन आर्मी फूटवल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एपिएफ क्लब, अफ्रिकन रुट्स एसोसिएसन, सुदुरपश्चिम–११ धनगढी, भरतपुर फूटवल क्लब, बागमती युवा क्लब, वीरगन्ज युनाईटेड क्लब, बागमती गाउपालिका खेलकुद विकास समिति, विजय युथ क्लब र आयोजक क्लब रहेका छन् ।

प्रतियोगितालाई रोचक बनाउन यस वर्ष अफ्रिकन रुट्सलाई स्थान दिइएको छ । जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगीको रुपमा रहेको प्रतियोगिता बैशाख ११ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको बिजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, उदयीमान खेलाडी र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।

सिमरा गोल्डकपको नाममा संचालन हुदै आएको प्रतियोगिता यस बर्षदेखि जीतपुरसिमराको नाममा संचालन गर्न लागिएको हो । प्रतियोगितालाई सफल बनाउन मुल आयोजक कमिटीसहित विभिन्न उपसमिति गठन गरीएको छ । एन्फाले दिएको तालिका अनुसार प्रतियोगिता संचालन गरेको आयोजकले बढ्दो गर्मीलाई मध्यनजर गर्दै यस वर्ष बेलुकाको समयमा खेल सञ्चालन गरेको छ ।

प्रतियोगिता अन्र्तगत आज आयोजक नव जनजागृती युवा क्लब सिमरा र बागमतीबिच खेल भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*