मेयर साब ! जीतपुरसिमराको गाडीलाई पनि एम्बुलेन्स बनाउने की ?
प्रदिप गौतम /
कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्ने बिषयमा खासै चासो नदेखाएको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो सावरी साधनलाई एम्बुलेन्स बनाउनुपर्ने आवाज उठ्न थालेको छ । संक्रमितलाई ओसारपसार गर्न उपमहानगरपालिकाका मेयर, उप–मेयर र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीलाई एम्बुलेन्स बनाईदिनुपर्ने आवाज उठ्न थालेको हो ।
कोरोना संक्रमितको संख्या दिनप्रदिन बढ्दै जादा उपमहानगरपालिकाको सार्वजनिक सवारी साधन एम्बुलेन्स बनाउनुपर्ने आाज बिभिन्न क्षेत्रबाट उठेको छ । जनताका प्रतिनिधिहरुले जनतालाई समस्या पर्दासमेत चासो नदेखाएको भन्दै सार्वजनिक रुपमै जनप्रतिनिधिहरुको आलोचना हुने गरेको छ ।
महामारीको समयमा समेत जनप्रतिनिधि मौन बसेको भन्दै सडकमा समेत विरोध हुन थालेको छ । यसैबिच, नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडीलाई एम्बुलेन्स बनाउन स्वतन्त्र युवा समाज डुमरवानाले माग गरेको छ ।
मास्क र सेनिटाईजर वितरण गर्न आयोजित एक कार्यक्रमकाबिच युवा समाजले प्ले कार्डमार्फत सार्वजनिक सवारी साधनलाई एम्बुलेन्स बनाउन माग गरेको हो । अन्यत्र जिल्लामा जनप्रतिनिधिले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिएको भन्दै स्वतन्त्र युवा समाज डुमरवानाले तत्काल सो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न माग गरेको हो ।
स्वतन्त्र युवा समाजका अध्यक्ष अरुण तामाङले जनप्रतिनिधिहरु जनताको समस्यामा तत्पर नभएको बताउनुभयो । उहाले यथाशिघ्र निर्णय गरी सबै गाडीलाई एम्बुलेन्स बनाउन आग्रह गर्नुभयो ।























