जीतपुरसिमरामा पौरखी युवाको लोभलाग्दो तरकारी खेती, बार्षिक १५ लाख आम्दानी !
प्रदिप गौतम/सिसहनीया
सम्म फाट, हरियो देखिने तरकारी खेतीले यहा आउने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ । छिटफुट बस्ती वरिपरि तरकारीले गाउ नै हरियो देखिन्छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ सिसहनीयाका अधिकासंले तरकारी खेति गरेका छन् । यहाका अधिकांश युवा कृषि पेसामा आबद्ध छन् । त्यस्तै मध्यका एक हुन्, संतोष कुमार यादव । पुस्तौंदेखि यादवको परिवार तरकारी खेतीमा रमाईरहेका छन् । फरक यति मात्र हो, पहिले परम्परागत रुपमा कृषि खेती भईरहेकोमा अहिले भने आधुनिक प्रविधिबाट तरकारी खेती गरिदैछ । अहिले थोपा सिचाई प्रविधिबाट यादवले तरकारी खेति गरिरहेका छन् । कृषि जेटिए गरेका यदावले ३ बिगाहा क्षेत्रफलमा तरकारी खेती गरेका छन् । उनले अहिले भिन्डी, करेला, लौका खेती गरेका छन् । त्यसो त उनले बाह्रै मास तरकारी खेती गरेर आम्दानी गर्ने गरेका छन् । मौसमी अनुसारका तरकारी लगाउने उनले बेमौसमी खेती पनि गर्ने गरेको बताउछन् । उनले लौका, करेला, भिन्डी, काउली, बोडी, खुर्सानी, गोलभेडा आदी खेती गर्दै आएको बताए । ‘मैले मौसमी मात्र होईन्, बेमौसमी तरकारी पनि लगाउने गरेको छु,’ यादवले भने, ‘मेहनत गरे आफ्नै देशमा केहि गर्न सकिन्छ।’

बार्षिक १५ लाख आम्दानी
तरकारी खेती गरेरै यादवले बार्षिक १५ लाख रुपैयासम्म आम्दानी गर्ने गरेको बताए । ‘मेरो आयस्रोत नै तरकारी हो, लगभग बर्षको १५ लाख रुपैयासम्म तरकारीबाट कमाउछु’ उनले भने । मासिक १ लाख रुपैया भन्दा बढि रकम तरकारी खेती गरेरै कमाउने गरेका यादव कृषि कर्ममा व्यस्त अनि मस्त छन् । नेपालमै बसेर पनि केहि गर्न सकिन्छ है भन्ने गतिलो उदाहरण यतिबेला यादव बनेका छन् । तरकारी खेती गरेरै बाल बच्चा अनि परिवारको पालनपोषण गरिरहेका यादवले कृषि क्षेत्रमै भबिष्य खोजिरहेका छन् ।

बजारीकरणको समस्या
आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिचाइ र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु यादवको दैनिकी हो । त्यसबाहेक सामाजिक गतिविधिपनि उनी व्यस्त नै रहन्छन् । आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उनलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ । बारीभरी लगाइएको तरकारीले मनै आनन्दित बनाउने गरेको उनको भनाइ छ । यी तरकारी एक दिन बिराई टिप्ने गर्छन् उनी । टिपेका तरकारी लिन व्यापारीहरु संतोषको घरसम्मै पुग्ने गर्छन् । बजारीकरणको समस्याले गर्दा सस्तोमै व्यापारीलाई तरकारी दिन बाध्य छन् उनी । भन्छन् ‘तरकारी बजारसम्म पुर्याउन समस्या छ, कुहिएर जाने डर पनि त्यस्तै छ, त्यही भएर व्यापारीलाई सस्तोमै दिन बाध्य छु’ । त्यसो त यो समस्या सिसहनीयाका यादवको मात्र हैन्, यहा“ कृषि पेशा गर्ने सबै कृषिको साझा समस्या नै हो ।

स्थानीय सरकार मौन
सिसहनीयाका तरिकारी खेती गर्ने अधिकासं कृषकको एउटै समस्या हो, बजारीकरण । बजारीकरण राम्रो भए आफुहरुले मेहनत गरे अनुसारको फल पाउने उनीहरु ब्ताउछन् । बिचौलियालाई तरकारी सस्तोमा बेचेर आफुहरुको मेहनत खेर गईरहेको यादव बताउछन् । ‘हामीले उत्पादन गरेको तरकारी बिचौलियाले सस्तोमा किन्छन्, अनि बजारमा लगेर महंगोमा बेच्छन्, तपाई आफै अनुमान गर्नुस् तपाईको भान्सासम्म पुग्दो त्यो तरकारी कतिमा बिक्रि हुन्छ ?’ उनले भने । आफुहरुले पटक पटक स्थानीय सरकारका जनप्रतिनिधिलाई समस्या राख्दा समेत बेवास्ता गरेको उनले बताए । स्थानीय सरकार मौन बस्दा आफुहरुको तरकारी खेतमै कुहिएर जाने गरेको उनले बताए । ‘हामीले धेरै पटक मेयर, उप मेयरसहित वडा अध्यक्षलाई हाम्रो समस्या राख्यौ, तर कसैले सुनेनन्’ उनले भने ।
























