फिफा वरीयतामा नेपालको ४ स्थान सुधार
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको पुरुष फुटबलको नयाँ वरीयतामा नेपालले ४ स्थान सुधार गरेको छ ।
फिफाले अगस्ट महिनाका लागि बिहीबार निकालेको नयाँ वरीयतामा ९७२ अंक प्राप्त गरेको नेपाल ४ स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो ।
दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत १०५ र माल्दिभ्स १५८औँ स्थानमा छन् ।
नेपालभन्दा पछि भुटान १८७, बंगलादेश १८८, पाकिस्तान १९८ र श्रीलंका २०५औँ स्थानमा छन् ।
फिफा वरीयतामा बेल्जियम शीर्ष स्थानमा कायम रहँदा ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ ।
फ्रान्स, इंग्ल्यान्ड, इटाली, अर्जेन्टिना, स्पेन, पोर्चुगल, मेक्सिको र अमेरिका क्रमशः तेस्रोदेखि १०औँ स्थानमा छन् ।























