वीपी जन्मजयन्ती : जीतपुरसिमरामा सरसफाई एवं बृक्षारोपणको आयोजना

ए वान डेस्क
२४ भाद्र २०७८, बिहीबार १३:१४

ए वान डेस्क /

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइदैछ । वीपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक संस्थाहरुले देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

जन्मजयन्तीकै अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आज सरसफाई एवं बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । नेपाली काग्रेसको वडा कमिटिले आयोजना गरेको कार्यक्रमको नगर सभापति श्यामबाबु गुप्ताले बृक्षारोपण गरेर उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर सभापति गुप्ताले वीपीको सिद्धान्त अनुसार सबै अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाले समाज परिवर्तन गर्न अब युवा पुस्ता अघि बढ्नुपर्ने बताउनुभयो ।

वडा कमिटि अध्यक्ष ईमानसिङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केदार बजगाई, एमालेका वडा कमिटि अध्यक्ष हरिदेव खरेल, एमाले नेता रमेश सापकोटा, समाजसेवी राधेश्याम सिवाकोटी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा पेमा नामपर नाम्चे गुम्बा परिषरमा १५० वटा बृक्ष रोपिएको थियो ।

को हुन् वीपी कोइराला ?

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा वीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा वीपी गृहमन्त्री बनेका थिए । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराएका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसदका प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*