जीतपुरसिमरा : टोल टोलमा पुगेर युवाहरुले उठाए फोहोर
आज विश्व सरसफाई दिवस । दिवसको अवसरमा देशैभर बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का युवाहरुले वडाभित्र रहेको फोहोर उठाएका छन् ।
लामो समयदेखि अव्यवस्थित रुपमा रहेको फोहोर युवाहरुले उठाएका हुन् । किशन ढकालको नेतृत्वमा युवाहरुले वडा नम्बर ४ भित्र अव्यवस्थित रुपमा रहेका फोहोर उठाएका हुन् । वडा नम्बर ४ को कार्यालयसंग समन्वय गरी टोल टोल पुगेर फाहोर उठाईएको युवा किशन ढकालले जानकारी दिनुभयो ।
वडा नम्बर ४ भित्र अव्यवस्थित र जथाभावि फालिएको फोहोर हिजो र आज गरी उठाईएको ढकालले बताउनुभयो । ढकालका अनुसार घरबाट निस्किएको र घर अगाडि जम्मा भएको फोहोरलाई व्यवस्थापन गरिएको हो । अव्यवस्थित र जथाभावि फालिएको फोहोर ट्याक्टरमा लोड गरी खोला क्षेत्रमा व्यवस्थापन गरिएको उहाले बताउनुभयो ।
‘हामीले हिजो र आज वडाभित्रको सबै फोहोर उठायौ अनि खोलामा खाल्डो खनेर गाडी दियौ’ उहाले भन्नुभयो । समयमा फोहोर नउठेको भन्दै केहिदिन अघि युवाहरुले जीतपुरसिमरा उमपहानगरपालिकाको कार्यालय अगाडी नै फोहोर फालिदिएका थिए ।























