उपत्यकामा काेराेना जाेखिम बढ्दाे, काठमाडौंमा मात्र एकै दिन थपिए ६७५ संक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्ला दिनमा काठमाडौंमा कोरोना संक्रमितको संख्यामा क्रमशः उकालो लाग्न थालेको हो। उपत्यकामा आइतबार ६१५, शनिबार ४८१, शुक्रबार ३७९, बिहीबार ३१० जनामा कोरोना देखिएको थियो।
त्यसैगरी बुधबार उपत्यकामा २५३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मंगलबार २२२, सोमबार १८४ र आइतबार १३७ जना संक्रमित थपिएका थिए।
पछिल्लो २४ घन्टा देशभरिमा भने थप १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ।
कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि सक्रियको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ४ हजार १८८ जना रहेका छन्। तीमध्ये काठमाडौंमा २ हजार ६५५, ललितपुरमा ९०० र भक्तपुरमा ६३३ जना रहेको मन्त्रालयले जनाएको छ।















