जीतपुरसिमरामा तीन अर्ब लगानीमा सवारीसाधन एसेम्बल उद्योग खुल्दै

ए वान डेस्क
२४ जेष्ठ २०७९, मंगलवार १६:२०

एलपी ग्यास तथा पेट्रोलियम व्यवसायी शिव घिमिरेले तीन अर्ब लगानीमा सवारीसाधन एसेम्बल उद्योग खोल्ने भएका छन् । हाल तारो र मोटरहेड ब्रान्डका मोटरसाइकल बिक्री गर्दै आइरहेका घिमिरेले देशभित्रै दुईपांग्रेदेखि ६ पांग्रेसम्मका विद्युतीय र पेट्रोलियम गाडी एसेम्बल गर्न थालेका हुन् ।औद्योगिक नगरी बाराको जितपुर–सिमरा उपमहानगरपालिका–११ मा प्लान्ट स्थापना गर्ने गरी १७ जेठ ०७९ मा एसजी अटोक्राफ्ट प्रालि उद्योग विभागमा दर्ता भएको छ ।

आफ्नै ३२ बिघा जग्गामा गाडी एसेम्बलदेखि अन्य उद्योगहरू सञ्चालनमा ल्याउने उनको तयारी छ । एसेम्बल उद्योगमा लगानीकर्ता भित्र्याएर निकट भविष्यमै प्लान्ट निर्माण सुरु गर्ने उनको भनाइ छ । ‘अहिले अटोक्राफ्टमा सिंगल लगानीकर्ता छु, कुनै स्वदेशी तथा विदेशी लगानीकर्तासँग ज्वाइन्ट भेन्चर्समा जाने सोच छ,’ उनले भने, ‘लगानीकर्तासँग कुराकानी पनि भइरहेको छ ।’

एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र इ–बस १२० युनिट उत्पादन गर्ने योजना उद्योग विभागमा पेस गरेको छ । यस्तै, इन्टरनल कम्बसन इन्जिन (आइसिई) मोटरसाइकल तथा स्कुटर १० हजार पाँच सय युनिट, आइसिई तीनपांग्रे रिक्सा १५ सय युनिट, आइसिई फोर ह्विलर्स (कार, एसयुभी, जिप) ६ सय युनिट र आइसिई सिक्स ह्विलर्स गाडी सात सय ५० युनिट उत्पादन गर्नेछ ।

उद्योग सञ्चालनमा आउँदा चार सय ३१ जनाले रोजगारी पाउनेछन् । यस्तै, उद्योग सञ्चालन गर्न २५ सय केभिएको विद्युत् आवश्यक पर्नेछ । उद्योगमा विद्युतीय सवारीसाधन एसेम्बललाई प्राथमिकता दिइने लगानीकर्ता घिमिरेले बताए । ‘युरोप–अमेरिकी मुलुकतिर सन् २०३० सम्म पेट्रोलियम सवारी विस्थापन गर्ने घोषणा गरिएको छ, फ्युचर भनेको विद्युतीय गाडी नै हो,’ उनले भने, ‘म पेट्रोलियम व्यवसायी भए पनि फ्युचर हेरेरै विद्युतीय सवारीसाधन उत्पादन गर्न कस्सिएको हुँ ।’

पेट्रोल तथा ग्यास उद्योगबाट उदाएका घिमिरे एसजी ग्रुपका अध्यक्ष हुन् । यो ग्रुपका ग्यास उद्योग, पेट्रोलपम्प सञ्चालनमा छन् । यस्तै, अक्सिजन उद्योगमा पनि लगानी छ । ट्रेडिङ, उत्पादन, ऊर्जा, एलपिजी बोटलिङ, हस्पिटालिटी, कृषि, मिडिया, बैंक तथा वित्तीय संस्था, स्कुल, कन्स्ट्रक्सन क्षेत्रमा लगानी रहेको घिमिरेले बताए । पछिल्लो समय उनी अटोमोबिल क्षेत्रमा आक्रामक ढंगले अगाडि बढ्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*