पचरौताका प्रमूख प्रशासकीय अधिकृत सम्पर्क विहिन, अत्यावश्यक सेवा प्रभावित
बाराको पचरौता नगरपालिकाका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव तीन सातादेखि सम्पर्कविहीन भएपछि आर्थिक वर्ष ०७९/०८० को नगरसभा हुन सकेको छैन । नगरसभा हुन नसकेपछि पालिकाले न नीति तथा कार्यक्रम ल्याउन सकेको छ, न त बजेट ।
यो समस्यासँगै प्रशासकीय अधिकृत नहुँदा करारका कर्मचारीलाई चालु वर्षमा थप्नुपर्ने करार अवधिको म्याद थप हुन सकेको छैन, जसले नगरस्तरीय अस्पतालको सम्पूर्ण स्वास्थ्य सेवा मंगलबारदेखि बन्द गरिएको छ ।
नगर प्रमुख जलन्धर सिंहले मंगलबार एक सूचना प्रकाशित गरी नगर अस्पतालका सबै स्वास्थ्य सेवा, नगरअन्तर्गतका ‘बर्थिङ सेन्टर’ र नगरपालिकाको वडा नम्बर–१ पिपरपातीमा रहेको प्रयोगशालाको सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएको जनाएका छन् ।
ती सबैमा करारका कर्मचारीले स्वास्थ्य सेवा दिँदै आएको थिए । ‘२३ जना स्वास्थ्यका करारका कर्मचारीमध्ये २२ जनाले म्याद थप नगरिएकोले छोडिसके,’ नगरप्रमुख सिंहले भने, ‘नगरसभा नै नभएपछि करारका कर्मचारीलाई राखिराख्ने कानुनी आधार छैन, त्यसैले कर्मचारी अभावमा नचाहँदा नचाहँदै स्वास्थ्य सेवा बाध्य भएर बन्द गर्नु परेको छ ।’
प्रशासकीय अधिकृत सम्पर्कविहीन भएपछि अर्को अधिकृतका लागि मन्त्रालयमा ५/६ पटक पत्राचार गरे पनि वास्ता नगरेको नगरप्रमुख सिंहले बताए । प्रशासकिय अधिकृत नहुँदा कर्मचारीलाई तलब दिन पनि नपाइएको उनको भनाइ छ ।















