जीतपुरसिमरा : फोहोरको समस्या विकराल बन्दै, के गर्दैछ उपमहानगरपालिका ?
प्रदिप गौतम /
जीतपुरसिमरा उपमहानगरपालिमा फोहोर व्यवस्थापनको समस्या बिकराल बन्दै गएको छ । फोहोर व्यवस्थापन नहुदा स्थानीयले समस्या त झेल्नु परेको छ नै, रोगको सम्भावना पनि बढ्दै गएको छ । हुन त फोहोरको समस्या जीतपुरसिमरामा मात्र हैन, अहिले देशैभरको अवस्था त्यस्तै छ । फोहोर व्यवस्थापन नहुदा जनप्रतिनिधिहरु आलोचित पनि बन्नु परेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले बर्षौदेखि दुधौरा खोलामा फोहोर फाल्दै आएको छ । फाहोर फाल्ने डम्पिङ साईडको अभावमा उपमहानगरपालिकाले दुधौरा खोलामा नै फोहोर फाल्ने गरेको छ । त्यसमाथि दिर्घकालिन समस्या समाधान गर्नेतर्फ उपमहानगरपालिका गंभिर रुपमा नलाग्दा समस्या सिर्जना भएको नगरवासीको भनाई छ ।
फोहोर व्यवस्थापनकै लागी उपमहानगरपालिकाले स्थानीयसंग पटक पटक सम्झौता पनि गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीयको माग पूरा गर्न प्रतिबद्धता जनाएको यो पहिलो पटक भने होइन । यसअघि पनि धेरै पटक सहमति भएपनि कार्यान्वयनमा बेवास्ता गरिएको स्थानीयवासीको आरोप छ । त्यसैले उनीहरूले फोहोर विसर्जनमा समय–समयमा अवरोध गर्दै आएका छन् ।
नगर प्रमुख राजन पौडेलले पटक पटक सार्वजनिक कार्यक्रममै फोहोर व्यवस्थापनबारे दिर्घकालिन रणनिति आफुहरुले बनाईरहेको बताउने गरेका छन् । पटक पटक नगर प्रमुख पौडेल नेतृत्वको टोलि फोहोर फाल्ने दुधौरा खोला क्षेत्रमा पनि पुगेको छ । नगर प्रमुखको पद सम्हालेयता पौडेल फोहोर व्यवस्थापनकै बिषयमा छलफलमा व्यस्त देखिन्छन् । केहि समयअघि मात्रै फोहोरको दिर्घकालिन समस्या समाधान गर्ने बिषयमा हेटौडा पुगेर नगरपालिकाको जम्बो टोलिले बृहत छलफलसमेत गर्यो । पौडेलले उपमहानगरको फोहोर व्यवस्थापनलाई आफ्नोे प्रमुख एजेन्डा बनाएपनि यो भर्खरै सिर्जित समस्या भने होइन । उनी निर्वाचित हुनु अघि देखि नै उपमहानगरपालिकामा फोहोर उठ्न छाडेको थियो ।
अहिले जीतपुरसिमराको फोहोर उठ्न नसक्दा चोकचोकमा थुप्रिएको छ । फोहोरका कारण दुर्गन्ध मात्रै फैलिएको छैन, रोग संक्रमणको जोखिम पनि बढेको छ ।
के गर्दैछ उपमहानगरपालिका ?
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले स्थानीयको अवरोधपछि फोहोर उठ्न छाडेको बताउनुभएको छ । ए वान समाचारसंगको कुराकानीमा उहाले बिभिन्न माग राखेर स्थानीयले अवरोधका कारण पनि फोहोर व्यवस्थापन हुन नसकेको बताउनुभयो ।
उहाले भन्नुभयो ‘हामीले दुधौरा खोलाको जंगलमा फोहोर फाल्दै आएका थियौ, तर अहिले स्थानीयले अवरोध गरेपछि भने फोहोर उठन सकेको छैन’ । दिर्घकालिन समस्या समाधानको बिषयमा उपमहानगरपालिका के गर्दैछ ? भन्ने हाम्रो प्रश्नमा उहाले उपमहानगरपालिका गंभिर रुपमा लागेको भन्दै फोहोरको समस्या समाधान गर्ने बिषयमा राजनितिक रुपमा छलफल हुनुपर्ने बताउनुभयो ।
‘हामीले ठुलो क्षेत्रफलमा जग्गा नै लिएर दिर्घकालिन समस्या समाधान खोज्ने प्रयास गरिरहेका छौ, उपमहानगरपालिकाले केहि नगरेको भने हैन, त्यसको लागी समय लाग्छ’ उहाले भन्नुभयो ।















