रामनारायण मिश्र फुटबल प्रतियोगिता : रौतहट फाईनलमा, उपाधीको लागी बारासंग भिड्ने
सिमरा /
रौतहट जिल्ला फुटबल संघ बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आज भएको अन्तिम सेमिफाईनल खेलमा सर्लाहीलाई पराजित गर्दै रौतहट फाईनलमा प्रवेश गरेको हो ।
उपाधीको लागी अब रौतहटले बारा जिल्ला फुटबल संघसंग फाईनल भिडन्त गर्नेछ । प्रतिस्पर्धात्मक खेलमा रौतहटले सर्लाहीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा रौतहटका लागि विपिन थापा मगर, अभिषेक चौधरी र किसन गौरोले गोल गरेका थिए । उता, सर्लाहीका लागि बिकेश घिसिङ र शिव चौलागाईले गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत रौतहटका मिरोज धामी म्यान अफ द म्याच घोषित भए ।
उनलाई ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार क्षेत्रीले नगद २५०० सहित म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए । रौतहटले उपाधीका लागि शनिवार बारासंग प्रतिस्पर्धा गर्नेछ । सिरहालाई टाईब्रेकरमा पराजित गर्दै बारा यसअघि नै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । सर्लाहीले भने सिरहासंग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
तेस्रो स्थानका लागि भोलि साझ ५ बजे दुई टिम भिड्नेछन् । मधेश प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा असार ११ गतेदेखि शुरु भएको प्रतियोगिताको मुख्य सहयोगीमा शिक्षा तथा समाजकल्याण मन्त्रालय मधेश प्रदेश रहेको छ । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहेको छ ।















