तराईका ६ जिल्लामा बाढीको ‘उच्च जोखिम’, सात नदीमा जलसतह सतर्कता तह पार हुने
आज (शुक्रवार) देशका प्रमुख नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने पूर्वानुमान छ । सप्तकोशी, सुनकोशी, तमोर, दुधकोशी, कमला, बाग्मती र महाकाली नदीको जलसतह सतर्कता तह पार गर्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शनिवार पनि सप्तकोशी नदीको बहाब सतर्कता तह आसपास हुने पूर्वानुमान छ ।
आगामी ३ दिन कर्णाली, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
आज सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट आसपास भई बहने केही स-साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम छ ।
यस्तै ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, रुपन्देही र आसपास भई बहने नदीमा समेत आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको छ ।
यी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यसका अलावा आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङजा, दाङ, डोटी, डडेल्धुरा, दार्चुला र बासपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ ।















