जितपुरसिमराका ३२ वर्षीय दिनेश पण्डित कसरी बने आचार्य श्रीनिवास ?

ए वान डेस्क
१९ आश्विन २०८०, शुक्रबार ०८:२८

श्रीनिवासको स्थायी घर बाराको जितपुरसिमरा उपमहानगर–२ हो । उनको जन्म भनेको नुवाकोटस्थित मामाघरमा २०४८ साल भदौमा भएको श्रीनिवाससँगै कुनै बेला अभियानमा जोडिएका पण्डित नारायण अर्याल बताउँछन् ।

उनले कक्षा ५ सम्म सिमरास्थित एक निजी विद्यालयमा अध्ययन गरेका थिए भने त्यसपछि सामुदायिक विद्यालय भर्ना भएर एसएलसी उत्तीर्ण गरेका थिए । कक्षा ११ भर्ना भएर उनले पढाइ छाडेका थिए भने धार्मिक अभियानमा जोडिएका थिए । भागेर सर्लाहीका एक पण्डितको घरमा गएर पूजापाठ गर्न सिकेको उनी निकटस्थहरु बताउँछन् ।

पछि १६ वर्षको उमेरबाटै श्रीमद्भागवत पुराण वाचन गर्न थालेर उनको धार्मिक रुपान्तरण सुरु भएको थियो । अर्यालले बताएअनुसार, यससम्बन्धी दिनेशले औपचारिक अध्ययन भने गरेका थिएनन् ।

पछि नेपाल वेदविद्याश्रम, वनकालीमा गएर उनले छोटो समय संस्कृत अध्ययन गरेको अर्याल बताउँछन् । त्यसपछि काठमाडौंमै रहेर धार्मिक अभियानमा लागि रहेका बेला बाराका शंकर पण्डित ‘आचार्य श्रीनिवास’का रुपमा रुपान्तरित भए ।

राज्यले उनको गतिविधिलाई हिंसा फैलाउने भने पनि आफूहरुलाई त्यस्तो नलाग्ने पण्डित अर्याल सुनाउँछन् । ‘राज्य वा व्यक्तिले जे सोचेपनि धर्म र राष्ट्रप्रति गलत भइरहेको सहेर बस्नु भनेको कायरता हो भन्ने उहाँको स्वभाव हो’, अर्याल दाबी गर्छन्, ‘म उहाँले भन्ने कुरामा कुनै गल्ती देख्दिनँ ।’

गृह मन्त्रालय भने सामाजिक र धार्मिक सद्भाव भड्काउने गतिविधिमा संलग्न जोकोही कानूनी दायरामा आउने बताउँछ ।

‘धार्मिक, जातीय र सांस्कृति द्वेष फैलाउने, एकअर्कामा घृणा फैलाउने जस्ता गतिविधिमा संलग्न जोसुकै भएपनि तत्काल कारबाही गर्न मन्त्रालयको स्पष्ट निर्देशन छ’, मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी भन्छन्, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर उत्तेजित बनाउने अभिव्यक्ति दिने जुनसकै घटना जोसुकैबाट भएपनि प्रशासन कडाइपूर्वक जान्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*