प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष उपप्रमुखलाई दिने निर्णयपछि मिल्यो वीरगञ्ज महानगरको विवाद

ए वान डेस्क
३ पुष २०८०, मंगलवार ०८:३१

पर्साको वीरगञ्ज महानगरपालिकाको विवाद मिलेको छ । उपप्रमुख इम्तियाज आलमले खाली भएको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई आफ्नो कार्यकक्ष बनाउन खोजेपछि विवाद सिर्जना भएको थियो । उक्त कार्यकक्ष उपप्रमुख आलमले प्रयोग गर्ने विषयलाई लिएर २६ मंसिरमा मेयर राजेशमान सिंह र उपमेयर आलमका समर्थकबीच हात हालाहालसम्म भएको थियो ।

सोमबार बसेको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उपप्रमुख आलमलाई नै बस्न दिने निर्णय भएसँगै विवाद साम्य भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रहेको कोठा खाली भएपछि महानगरले मेयर सिंहको निर्देशनमा कर्मचारी पञ्जीकरण शाखा सार्न खोज्दा उपमेयर आलमको सचिवालयले रोक्दा तनाव उत्पन्न भएको थियो ।

सोमबारको कार्यपालिका वैठकले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई उपप्रमुखको कार्यकक्ष विस्तार गर्न दिने निर्णय गरेसँगै विवाद समाधान भएको मेयर सिंहको सचिवालयले जानकारी दिएको छ ।

‘प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष नगरप्रमुख रहेकै भवनको पहिलो तल्लामै राख्ने, नगर उपप्रमुखको सचिवालय रहेको पार्किङ क्षेत्र तर्फको ३ वटा कोठाबाट सचिवालय हटाएर आवश्यकता अनुसारको शाखा स्थानान्तरण गर्ने, अहिले खाली भएको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई उपप्रमुखको कार्यकक्ष विस्तार गर्न दिने बैठकले निर्णय गरेको हो,’ सचिवालयले भनेको छ ।

नयाँ प्रशासनिक भवन निर्माण गर्ने

कार्यपालिका बैठकले नगरवासीलाई सहज सेवा प्रदान गर्न सेवाग्राही मैत्री कार्यकक्षका लागि नयाँ प्रशासनिक भवन निर्माण गर्न जरुरी रहेको भनेर सुशासन तथा संस्थागत विकास समितिले बुझाएको प्रतिवेदन स्वीकृत भएको थियो ।

बैठकले भवन व्यवस्थापनका लागि चाँडै नै प्रकृया थाल्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराइले जानकारी दिए ।

कार्यकक्षको विषयमा देखिएको विवाद समाधानका लागि ‘सुशासन तथा संस्थागत विकास समिति’लाई गत बिहीबारको बोर्ड बैठकले यथार्थ जानकारी सहित प्रतिबेदन बुझाउन समय दिएको थियो ।

समितिका संयोजक प्रदीप चौरसियाले बुझाएको प्रतिवेदनलाई बोर्डले सामान्य परिमार्जन सहित पारित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*