छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

ए वान डेस्क
१८ माघ २०८०, बिहीबार १२:३६

विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा मोरङ, कपिलवस्तु र नवलपरासी पूर्वमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङको ग्रामथान गाउँपालिका-२ मा कटहरीबाट झोराहाटतर्फ जाँदै गरेको मे१त ७०५९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका-२ बस्ने १९ वर्षीय पैदलयात्री उपेश सरदारको बुधबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सरदारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ बर्गदास्थित सडकमा नम्बर नखुलेको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री नाइम तेली मुसलमानकी छोरी ७ वर्षीया तैहब्बा मुसलमानको बुधबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी तैहब्बाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-६ माईली साईली चोकमा ना१च ३६६७ नम्बरको साइन बोर्डिङ स्कुलको भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने शोभा थापा मगरको छोरा ५ वर्षीय स्वस्थी बाचेको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*