प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदियो डीआईजी अर्जुन चन्दको राजीनामा

ए वान डेस्क
२२ माघ २०८०, सोमबार १७:१६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले दिएको राजीनामा प्रहरी प्रधानकार्यालयले फिर्ता गरिदिएको छ।

स्रोतका अनुसार राजीनामाको प्रक्रिया नपुगेको भन्दै प्रधानकार्यालयले डीआईजी चन्दको राजीनामा स्वीकृत नगरी फिर्ता पठाएको हो। डीआईजी चन्दले व्यक्तिगत कारण देखाउँदै शनिबार पदबाट राजीनामा दिएका थिए।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले चन्दलाई राजीनामा फिर्ता लिन सुझाव दिएको बुझिएको छ। आईजीपी कुँवरको सुझावपछि उनी केही दिन बिदा बसेको स्रोतको भनाइ छ।

उनलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। उनको कार्यकाल ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म छ।

केही दिनअघि विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। यद्यपि, उक्त घटनाका कारण आफूले राजीनामा नदिएको उनले बताएका थिए।

विमानस्थलमा भिजिट भिसाको विषयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच अविश्वास बढिरहेका बेला डीआईजी चन्दको राजीनामा आएको‍ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*