जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगे सन्दीप
जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदनका लागि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्। अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै लामिछाने पुनरावेदनका लागि आफ्ना वकिलसँग बिहीबार अदालत पुगेका हुन्। अहिले मुद्दा दर्ताको प्रक्रियामा रहेको अदालत स्रोतले जनाएको छ।
जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो।
नाबालिग बलात्कार गरेको आरोपमा गौशाला-२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। तर,अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको छ।
काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी मुद्दा अगाडि बढाएको थियो।















