ट्वान्टी-२० त्रिकोणात्मक शृंखला : नेदरल्यान्ड्स र नामिबिया भिड्दै
ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ ।
नेदरल्यान्ड्सले आजको खेलमा विजय हात पारे फाइनलमा स्थान पक्का गर्नेछ । नामिबियालाई फाइनल पुग्न सामान्य जितले पुग्ने छैन । टोलीले ठूलो अन्तरको स्कोरमा नेदरल्यान्ड्सलाई पराजित गर्नुपर्नेछ । यस्तो भएमा नेदरल्यान्ड्स रनरेटका आधारमा नेपालभन्दा तल पुग्नेछ ।
रनरेटका आधारमा नेदरल्यान्ड्सभन्दा नेपाल अझै पछाडि छ । तर, नेदरल्यान्ड्समाथिको यही सानदार जितले नेपालको फाइनल यात्रा निश्चित भइसकेको छ । डबल राउन्ड रोबिनमा भइरहेको तीनदेशीय यो प्रतियोगितामा नेदरल्यान्ड्स र नेपालले समान २ खेल जितेका छन् र एकमा हार बेहारेका छन् । नेपालले सबै चार खेल खेलिसकेको छ ।















