प्रथम जीतपुरसिमरा क्रिकेट कप २०८० शुरु, उद्घाटन खेलमा पर्सा विजयी

ए वान डेस्क
४ चैत्र २०८०, आईतवार १२:०९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा प्रथम जीतपुरसिमरा क्रिकेट कप २०८० शुरु भएको छ । अभियान नेपालको आयोजनामा वडा नम्बर ४ स्थित सशस्त्र बेश क्याम्प छेउको क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको नगर प्रमुख राजन पौडेलले ब्याटिङ र उपप्रमुख भोलाप्रसाद अधिकारीले बलिङ गरेर उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता संयोजक सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, राजनीतिक दलका प्रतिनिधि, क्रिकेट संघका विभिन्न तहका पदाधिकारी, सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी श्रीराम रेग्मीले गर्नुभएको थियो भने स्वागत मन्तब्य त्रिलोक बिक्रम शाहले राख्नुभएको थियो ।

उद्घाटन खेलमा पर्सा विजयी

आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । औराहस्थित सेज क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो ।
पर्साको जीतमा अकिब अंसारी र अनुज चौहानले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

टस जितेर ब्याटिङ रोजेको पर्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पर्साका लागि अकिबले ६३ रन जोड्दै अर्धशतक बनाए । आयोजकका कप्तान सुरज लामाको बलमा पेभेलियन फर्किनु अघि अकिबले ५४ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए ।

यसैगरी अनुज चौहानले ३५ बलमा ३७ रन बनाउँदा पर्साका अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् । १४ रनमै तीन विकेट गुमाएको पर्सालाई अकिब र अनुजले सम्हाल्दै सम्मानजनक स्थितिमा पुर्याएका थिए । आयोजकका लागि कप्तान सुरज लामाले चार ओभरमा १८ रन खर्चिएर चार विकेट लिए भने अजय पटेलले दुई ओभर बलिङ गर्दै २२ रन खर्चिएर तीन विकेट लिएका थिए । आयोजकका लागि आजाद अंसारीले दुई विकेट लिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी सम्मिलित पर्साविरुद्ध १३७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आयोजक ५९ रनमै समेटियो । आयोजकका लागि इर्साद अख्तरले १३ र अनिल खड्काले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

पर्साका अल्फाज अंसारी, सम्साद मन्सुरी, अरबाज अंसारी र अकिब अंसारीले समान दुई–दुई विकेट लिए । पर्साका अकिब प्लेयर अफ दि म्याच घोषित भए । अकिबलाई शुभारम्भ कलेजका प्रमुख शम्भु मण्डलले दुई हजार नगद र ट्रफि प्रदान गरेका थिए । शुभारम्भ कलेजले प्लेयर अफ दि म्याचको पुरस्कार प्रायोजन गरेको थियो ।

प्रतियोगिता अन्तर्गत आइतबार पर्सा क्रिकेट संघ र कलैया क्रिकेट क्लबबीच खेल हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।
चैत्र १० गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।

राउण्ड रोबिनका आधारमा संचालन प्रतियोगिताको समूह विजेताले उपाधीका लागि भिडन्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि मधेस प्रदेश क्रिकेट संघ, बारा क्रिकेट संघ, पथलैया क्रिकेट क्लब र सिमरा क्रिकेट क्लबले व्यवस्थापकिय सहयोग गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*