बिचौलिया हटाउन एजेन्ट लाइसेन्स प्रणाली ल्याउँदैछौं : कृषिमन्त्री साह

ए वान डेस्क
४ चैत्र २०८०, आईतवार १४:२४

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि उपजमा विद्यमान बिचौलिया प्रणाली हटाउन ‘एजेन्ट लाइसेन्स’ प्रणाली ल्याउने तयारी गरिरहेको बताएकी छिन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको साना किशान कृषि सहकारी संस्था लिमिटेडको २८औ स्थापना दिवसको उद्घाटन गर्दै मन्त्री साहले किसानका समस्या समाधान आफ्नो पहिलो दायित्व रहेको बताइन् ।

सबैखाले कृषि उत्पादनमा बिचौलिया मोटाउने र किसान मारमा पर्ने समस्या रहेको र त्यसलाई हटाउन एजेन्ट लाइसेन्स प्रणाली ल्याउने तयारीमा आफू लागेको मन्त्री साहले बताइन् ।

‘बिचौलिया व्यवस्थापन नभएसम्म नेपाली किसानको प्रगति हुन सक्दैन, बिचौलियालाई व्यवस्थापन गर्न एजेन्ट लाइसेन्स प्रणाली ल्याउँदैछौं,’ मन्त्री साहले भनिन् ।

मन्त्री साहले बिचौलिया व्यवस्थापन गरेपछि किसान र उपभोक्ता दुवैलाई फाइदा हुने भएकाले मन्त्रालयको कदममा साथ दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरिन् ।

‘उपभोक्ता र किसान मर्ने, बिचौलिया मोटाउने वर्तमान प्रवृत्तिको अन्त्य गर्ने छु,’ उनले भनिन् । मन्त्री भएको पहिलो सातामै किसानसँग सम्बन्धित समस्या समाधानमा आफूले धेरै काम गरिसकेको बताइन् ।

साहले दूध किसानको बक्यौता रकम भुक्तानीका लागि ३० करोड र पशु बीमा बक्यौताका लागि ४८ करोड रुपैयाँ निकासा स्वीकृत गरिसकेको र एक साताभित्रै दुवै समस्या अन्त्य हुने दाबी गरिन् ।

कृषि उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन आफूले नीतिगत रूपमा प्रक्रिया अघि बढाएको मन्त्री साहको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*