एसपी बढुवा : पुछारका पीएसओ बढुवा हुँदा पहिलो नम्बरका क्षेत्री छुटे

लामो समयदेखि खाली रहेको ८ एसपीको दरबन्दीमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक अध्यक्ष रहेको बढुवा समितिले बुधबार राति ८ डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको छ ।
जसमा बढुवा दाबेदारको पहिलो नम्बर रहेका डीएसपी प्रदीपकुमार क्षेत्री छुट्दा अन्तिममा रहेका निजी सुरक्षा अधिकृत (पीएसओ) बिनोद घिमिरे बढुवा भएका छन् । घिमिरे कुनै समय हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पीएसओ थिए।
गत साउनदेखि अहिलेसम्म नेपाल प्रहरीमा ८ एसपीको दरबन्दी रिक्त थियो । जसमा मुख्य गरी १२ जना प्रतिस्पर्धामा थिए । डीएसपीमा रहेको वरियता अनुसार पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री थिए ।
१२ औं नम्बरमा भने बिनोद घिमिरे थिए । तर बढुवा सिफारिसमा भने पहिलो नम्बरका क्षेत्री छुट्दा १२ औं नम्बरका पीएसओ घिमिरे बढुवाका लागि सिफारिस भएका छन् ।
यसअघि प्रहरी महानिरीक्षक वसन्त कुँवरले वरियताक्रम अनुसार बढुवा गर्ने भन्दै कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनलाई गौण बनाउँदै बढुवा गरेका थिए ।
सोही नीति अनुसार गत ३० वैशाख डीएसपीबाट एसपी बढुवा गर्दा कारबाही भागेका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका श्यामकुमार राई समेत बढुवा भएका थिए । राई प्रहरी वृत्त बौद्धको प्रमुख भएका बेला घुससहित पक्राउ परेका थिए ।
अहिलेको बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रो नम्बरमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौं नम्बरमा निरन्जनदत्त भट्ट, सातौं राजन लिम्बू र आठौं नम्बरमा बिनोद घिमिरे बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस भएका मध्ये घिमिरे प्रचण्डका पूर्वपीएसओ हुन् भने सन्तोष तामाङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओ हुन् । राजन लिम्बू पनि ओलीका पूर्वपीएसओ हुन् ।
डीएसपीमा रहँदा लिम्बु आठौं, तामाङ नवौं र घिमिरे १२ औं नम्बरमा थिए । उनीहरुलाई बढुवा गर्दा पहिलो नम्बरका क्षेत्री र छैटौ नम्बरका नारायण रन्जितकार बढुवामा छुटेका छन् ।